काठमाडौं- स्टेट अफ हर्मुज क्षेत्रमा देखिएको अवरोधले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा दबाब बढ्दै जाँदा त्यसको असर नेपालमा पनि देखिएको छ। बजारमा खाना पकाउने ग्यास अभाव देखिएको भए पनि आयातको अवस्था भने सन्तोषजनक रहेको तथ्यांकले देखाएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार हालको ग्यास अभाव वास्तविक आपूर्ति संकटभन्दा बढी उपभोक्तामा फैलिएको त्रासका कारण उत्पन्न भएको हो।
'आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छैन तर उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास संकलन गर्न थालेपछि बजारमा दबाब परेको हो,' उनले भने। उनका अनुसार युद्ध लम्बिएमा भने स्थिति जटिल बन्न सक्ने भएकाले निगमले विभिन्न वैकल्पिक उपायहरू अघि बढाउन थालेको छ।
बजारमा देखिएको असन्तुलन व्यवस्थापन गर्न निगमले फागुन २८ गतेदेखि ‘आधा सिलिन्डर’ अर्थात् ७.१ केजी मात्रै ग्यास बिक्री गर्ने नीति लागु गरेको छ। निगमका अनुसार पश्चिम एसियामा उत्पन्न तनाव र केही समय ढुवानीमा देखिएको अवरोधका कारण माग र आपूर्तिबीच असन्तुलन देखिएको हो।
युद्ध लम्बिएमा सम्भावित संकटलाई ध्यानमा राख्दै निगमले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने, भान्सामा विद्युतीय चुलोको प्रयोग बढाउने तथा ऊर्जा खपत व्यवस्थापन गर्ने विकल्पहरूमा काम गरिरहेको जनाएको छ। साथै दीर्घकालीन रूपमा आपूर्ति व्यवस्थापन सुदृढ बनाउन विभिन्न रणनीतिक तयारीहरू अघि बढाइएको पनि निगमले जनाएको छ।
नेपालमा एलपी ग्यासको भण्डारण क्षमता सीमित रहेको छ। हालको संरचनाअनुसार देशभर अधिकतम चार दिनसम्म मात्र ग्यास भण्डारण गर्न सकिने अवस्था रहेकोले आपूर्ति श्रृंखलामा सानो अवरोध हुँदा पनि बजारमा तत्काल प्रभाव पर्ने गरेको छ।
भन्सार विभागको पछिल्लो तथ्यांकले भने ग्यास आयातमा उल्लेख्य वृद्धि देखाएको छ। फागुन महिनामा मात्रै ५१ हजार १ सय ९२ टन ग्यास आयात भएको छ, जुन पछिल्ला तीन महिनाकै उच्च हो। यसअघि पुसमा ४७ हजार ४ सय ६० टन र माघमा ४६ हजार २ सय ८५ टन ग्यास आयात भएको थियो। गत वर्षको फागुनको तुलनामा समेत यस वर्ष ३ हजार ४ सय ३८ टन बढी ग्यास आयात भएको देखिएको छ।
त्यस्तै चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २ सय ८२ टन ग्यास आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० हजार १ सय ८७ टनले बढी हो। यसले समग्र आपूर्ति घटेको नभइ भण्डारण गर्ने बढ्दो प्रवृत्ति देखिएको पुष्टि गर्दछ।
आयात बढ्दो देखिँदा पनि बजारमा ग्यास अभाव देखिनुले वितरण प्रणाली र बजार व्यवहारप्रति प्रश्न उठाएको छ। कतिपय स्थानमा ग्यास लुकाउने वा अनावश्यक भण्डारण गर्ने प्रवृत्तिका कारण ‘कृत्रिम अभाव’ सिर्जना भएको छ। निगमले भने यसको मुख्य कारण मागमा आएको अस्वाभाविक वृद्धि र उपभोक्ताको त्रास रहेको दाबी गरेको छ।