बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

नक्कली रेस्क्युको नाममा धन्दा : पर्यटक ठगीमा संगठित सञ्जाल, ३२ जनाविरुद्ध मुद्दा

सोमबार, चैत ९ २०८२
नक्कली रेस्क्युको नाममा धन्दा : पर्यटक ठगीमा संगठित सञ्जाल, ३२ जनाविरुद्ध मुद्दा

सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुर र संगठित अपराधअन्तर्गत मुद्दा दायर गरेको हो। ८ जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको छ भने अन्य प्रतिवादीहरू फरार छन्।

काठमाडौं- पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा ‘नक्कली रेस्क्यु’को नाममा भइरहेको ठगी धन्दा पर्दाफास भएको छ। विदेशी पर्यटकलाई लक्षित गर्दै बिमा रकम असुली गर्ने उद्देश्यले संगठित रूपमा सञ्चालन गरिएको यो सञ्जालविरुद्ध ३२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुर र संगठित अपराधअन्तर्गत मुद्दा दायर गरेको हो। ८ जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको छ भने अन्य प्रतिवादीहरू फरार छन्।

अनुसन्धानबाट पर्वतारोहण तथा ट्रेकिङमा आएका विदेशी पर्यटकलाई ‘बिरामी’ भएको बहाना बनाइ हेलिकप्टरमार्फत उद्धार गर्ने, अस्पताल भर्ना गराउने र त्यसपछि बिमा कम्पनीबाट ठूलो रकम दाबी गर्ने संगठित अभ्यास रहेको खुलेको छ। यस्तो प्रक्रियामा ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी, अस्पताल र उद्धार सेवामा आबद्ध व्यक्तिहरूको मिलेमतो देखिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले माघ ११ गते यस्तो गिरोह सक्रिय रहेको सूचना पाएपछि अनुसन्धान थालेको थियो। त्यसक्रममा विभिन्न कम्पनीका सञ्चालक, व्यवस्थापक तथा चिकित्सकहरू पक्राउ परेका थिए।

प्रहरीका अनुसार केही अवस्थामा सामान्य स्वास्थ्य समस्या भएका वा स्वस्थ रहेका पर्यटकलाई समेत ‘आपतकालीन अवस्था’ देखाएर उद्धार गरिएको थियो। त्यसपछि अस्पतालमा भर्ना गराई अनावश्यक उपचार देखाइ बिमा दाबीमार्फत रकम असुल्ने गरिएको थियो।

यस प्रकरणमा ट्रेकिङ कम्पनी, हेलिकप्टर सेवा प्रदायक, अस्पताल तथा उद्धार सेवामा आबद्ध व्यक्तिहरू संलग्न रहेको पाइएको छ। अनुसन्धान अधिकारीहरूका अनुसार यस्तो गतिविधिले नेपालको पर्यटन क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएको यस्तो ठगी प्रकरण सार्वजनिक भएपछि नियामक निकायहरू थप कडाइका साथ अनुगमनमा लाग्ने तयारीमा छन्। विज्ञहरूले नक्कली रेस्क्यु जस्ता गतिविधि नियन्त्रण नगरे नेपालको पर्यटन छविमा दीर्घकालीन नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।

यी हुन् फेक रेस्क्यु प्रकरणका ३२ प्रतिवादी:

१. मुक्ति पाण्डे – एभरेस्ट एक्स्पिरियन्स एन्ड असिस्टेन्स प्रालि
२. सुवास केसी – एभरेस्ट एक्स्पिरियन्स एन्ड असिस्टेन्स प्रालि
३. विवेक पाण्डे – माउन्टेन रेस्क्यु सर्भिस
४. जयराम रिमाल – माउन्टेन रेस्क्यु सर्भिस
५. विवेकराज थपलिया – नेपाल चार्टर सर्भिस प्रालि
६. रवीन्द्र अधिकारी – नेपाल चार्टर सर्भिस प्रालि
७. डा. गिर्वाणराज तिमिल्सिना – श्रद्धी इन्टरनेसनल अस्पताल
८. डा. मिनल्मा पाण्डे – स्वाकन इन्टरनेसनल अस्पताल
९. श्यामसुन्दर कँडेल – स्वाकन इन्टरनेसनल अस्पताल
१०. सन्दीप ढुंगाना – हिमालयन मास्टर्स एडभेन्चर्स
११. सन्दीप तिवारी – रोयल होलिडे एडभेन्चर
१२. शान्तकुमार बाँनिया – म्याजिक हिमालय ट्रेक
१३. विनोद सापकोटा – नेपाल ट्रेक एडभेन्चर
१४. जीवन पाण्डे – एरा इन्टरनेसनल अस्पताल
१५. भानु ढकाल – एरा इन्टरनेसनल अस्पताल
१६. फुर्वा छिरिङ शेर्पा – एरा इन्टरनेसनल अस्पताल
१७. ममिता भट्ट – एरा इन्टरनेसनल अस्पताल
१८. चुङला शेर्पा – एरा इन्टरनेसनल अस्पताल
१९. पासाङ शेर्पा – पानोराम हिमालय ट्रेकिङ
२०. तेन्जिङ शेर्पा – पानोराम हिमालय ट्रेकिङ
२१. पासाङ दावा शेर्पा – अल्टिच्युड एयर
२२. बद्री लम्साल – स्प्रिच्युअल एक्सकर्सन
२३. कवीन्द्र लम्साल – स्प्रिच्युअल एक्सकर्सन
२४. विष्णुप्रसाद लम्साल – नेपाल हाइकिङ एडभेन्चर
२५. सन्दीप भण्डारी – माउन्टेन हेलिकोप्टर
२६. प्रकाशबाबु दाहाल – मनाङ एयर
२७. चन्द्रप्रसाद प्याकुरेल – अल्टिच्युड एयर
२८. कुमार भण्डारी – नेपाल रेस्क्यु एण्ड असिस्टेन्स
२९. खोमराज अधिकारी – नेपाल चार्टर सर्भिस
३०. गणेश सिलवाल – एरा इन्टरनेसनल अस्पताल
३१. श्रीराम केसी – स्वाकन अस्पताल (पूर्व सञ्चालक)
३२. रामकुमार फुयाल – वर्ल्डवाइड असिस्टेन्स प्रालि


प्रकाशित : सोमबार, चैत ९ २०८२०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend