बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

वर्षाका कारण ९ करोड रुपैयाँबराबरको काँचो इँटामा क्षति

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
वर्षाका कारण ९ करोड रुपैयाँबराबरको काँचो इँटामा क्षति
फाइल तस्बिर

ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई ८ करोड ७५ लाख रुपैयाँबराबरको क्षति भएको इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पीबीसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले जानकारी दिए।

नेपालगञ्ज- दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब ९ करोड रुपैयाँबराबरको काँचो इँटामा क्षति पुगेको छ।

इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई ८ करोड ७५ लाख रुपैयाँबराबरको क्षति भएको इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पीबीसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले जानकारी दिए। उनले बेमौसमी वर्षाले एउटा उद्योगमा मात्र करिब ५ लाख काँचो इँटा नष्ट भएको उल्लेख गरे।

व्यवसायी अधिकारीले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा ३ करोड ५० लाख काँचो इँटा नष्ट भएकाले ८ करोड ७५ लाख रुपैयाँबराबरको क्षति भएको बताए। एउटा काँचो इँटाको मूल्य २ रुपैयाँ ५० पैसा पर्ने अधिकारीले बताए।

व्यवसायीका अनुसार खुलाचौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटा पानीले भिजेर माटोमा परिणत भएका छन्। कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको बाँकेका व्यवसायीहरूको भनाइ छ।

इँटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीले ठूलो क्षति बेहोर्नुपरेको बताए। उनले सरकारले काँचो इँटाको बीमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको उल्लेख गरे। रासस


प्रकाशित : आइतबार, चैत ८ २०८२१६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend