काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ र परामर्शदाता ईआरएमसी/ए नट/स्लेट जेभीउपर पनि सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुऱ्याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ। अख्तियारले ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो माग गरेको छ।
अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै अर्को मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौताभित्र रहेको कार्य सम्झौताका सर्त र प्रावधान अनुरूप २८ लाख अमेरिकी डलरबाटै गराउनु पर्नेमा उक्त कार्य सम्झौताबमोजिम नगरी अस्वाभाविक रूपमा बढी लागत अनुमान ५० करोड ३४ लाख ४० हजार ६ सय ९६ रुपैयाँ तयार गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पत्तिबाट अतिरिक्त तथा दोहोरो बजेट खर्च गराएको अख्तियारले उल्लेख गरेको छ।
सरकारी सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने उद्देश्यले प्राधिकरणको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत नभएकै अवस्थामा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ को उपनियम (१), नियम ४० को उपनियम (२ क), नियम ७० को उपनियम (२) र विमानस्थल निर्माणको खरिद सम्झौताविपरीत हुनेगरी राष्ट्रियस्तरको मात्र प्रतिस्पर्धा गराइ परामर्श सेवा खरिद प्रक्रिया अगाडि बढाएको जनाइएको छ।
परामर्शदाता ईआरएमसी/ए/स्लेट जेभीसाग २०७५ बैशाख २४) मा ४२ करोड ८९ लाख ३६ हजार ७ सय (मू.अ.करसमेत) सम्झौता रकम कायम गरी खरिद सम्झौता गरे गराएको देखिएको र यसरी ईपीसी सम्झौताअनुसार २८ लाख अमेरिकी डलरबाटै परामर्शदाता नियुक्त गर्नुपर्ने र उक्त कार्यको लागि प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने जानकारी हुँदाहुँदै परामर्शदातालाई ४० करोड ६८ लाख २६ हजार ५ सय ६८ रुपैयाँ भुक्तानीसमेत गरी गराइ नागरिक उड्डयन प्राधिकरणको थप सम्पत्ति हिनामिना गरेको जनाइएको छ।
पोखरा विमानस्थलको कर छुटको बेरुजु प्रकरण के हो? अख्तियारको अनुसन्धान सुरु, चीनको विरोध