बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

आठ महिनामा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँको व्यापार घाटा

१२ खर्ब ८९ अर्ब २५ करोडको आयात हुँदा निर्यात १ खर्ब ९१ अर्ब ११ करोडको मात्रै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
आठ महिनामा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँको व्यापार घाटा

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्ब रुपैयाँको व्यापार घाटा बेहारेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा व्यहोरेको हो। पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँबराबरको निर्यात भएको विभागले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ।

गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र पाँच खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ छ। यस अवधिसम्ममा भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँबराबरको निर्यात भएको छ।

त्यस्तै छिमेकी मुलुक चीनसँग २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात हुँदा २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ। नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन्।

नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन्। पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख रुपैयाँ, नर्वेसँग ३ करोड ३३ लाख रुपैयाँ र आइसल्याण्डसँग २ करोड ५७ लाख रुपैयाँबराबरको व्यापार नाफा देखिएको छ।

यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। विभागका अनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाख रुपैयाँको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँबराबरको एलपी ग्यास आयात भएको छ।

त्यस्तै ८१ अर्ब १८ करोड ६४ लाख रुपैयाँबराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँबराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाख रुपैयाँको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको सुन, १८ अर्ब ४४ करोड ७८ लाख रुपैयाँको चाँदी आयात भएको छ।

नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ। पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँबराबरको भटमास तेल निर्यात भएको छ।

त्यस्तै ९ अर्ब ४९ करोड  ६१ लाख रुपैयाँको अलैँची, ६ अर्ब ५३ करोड ९६ लाख रुपैयाँको कार्पेट, ६ अर्ब २० करोड २३ लाख रुपैयाँको सूर्यमुखी तेल, ४ अर्ब ३२ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ। रासस


प्रकाशित : आइतबार, चैत ८ २०८२१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend