बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

दोधारा चादँनी सुक्खा बन्दरगाहको प्रगति ४.५ प्रतिशत

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
दोधारा चादँनी सुक्खा बन्दरगाहको प्रगति ४.५  प्रतिशत

विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेको हो। लामो समय जग्गा उपलब्ध नहुँदा निर्माणको विषय अन्योल बनेको थियो।

महेन्द्रनगर- सन् २०२५ डिसेम्बर २४ देखि निर्माण सुरु भएको कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाहमा हालसम्म ४.५ प्रतिशत भौतिक प्रगति भएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलमा संरचनाको काम भइरहेको जानकारी दिए।

'भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा निर्माणाधीन सुक्खा बन्दरगाहको आर्थिक प्रगति ३.५ प्रतिशत छ', उनले भने, 'माटो फिलिङ, पर्खाल निर्माण, आवास निर्माणका साथै मलेरिया नालामा पुलका लागि जग निर्माण हुँदैछ।'

इन्जिनियर केसीका अनुसार २ अर्ब ३७ करोड भारतीय रुपैयाँमा निर्माण भइरहेको सुक्खा बन्दरगाह ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ। बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका-१ स्थित गौरीशंकर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी यसअघि गरिएका थियो। उक्त बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सन् २०२३ जुन १ तारिखमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणा गरेको हो। लामो समय जग्गा उपलब्ध नहुँदा निर्माणको विषय अन्योल बनेको थियो।

'ढुङ्गा, माटो, गिट्टी, ग्राइभेल र इँटालगायत सामग्री निर्माण कम्पनीले नेपाली प्रयोग गरिरहेको छ', इन्जिनियर केसीले भने, 'त्यो बाहेकका निर्माण सामग्री भारतबाट आयात गरेरकाम अघि बढेको छ।'

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, क्वारेन्टाइन भवन, भन्सार चेकजाँच भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। भारततर्फबाट पनि सुक्खा बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण जारी छ। रासस


प्रकाशित : आइतबार, चैत ८ २०८२१४:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend