बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

काठमाडौं- नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ। आश्रममा शुक्रबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन्। 

कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवा प्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवा वाहनका कारण थप सहज हुने विश्वास व्यक्त गरे।

बैंकका सीईओ ज्ञवालीले सडकआश्रित मानवहरूको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए। उनले मानवजातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधैँ तयार रहेको उल्लेख गरे।

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन (अटो) को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरूलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए। यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरूप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए।

‘सडकआश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं। सेवा वाहन (अटो) प्राप्त भएपछि यो सेवालाई सहज बनाउन सकिने विश्वास लिएका छौँ। यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौँ,’ उनले भने।

नबिल बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो।

घरपरिवार र आफन्तविहीन बेवारिसे रूपमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन जिउने आधार सुनिश्चित गर्ने उद्देश्यका साथ मानवसेवा आश्रम २०६० सालदेखि सञ्चालनमा आएको हो। यस आश्रमले सातवटै प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गरी करिब १३ हजारलाई उद्घार गरिसकेको छ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो। नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ। नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजन मार्फत दिगो विकासमा योगदान पुर्‍याउन भूमिका खेल्दै  आएको छ।


प्रकाशित : आइतबार, चैत ८ २०८२१३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend