बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ताप्लेजुङका डाँडाकाँडा हिउँले सेताम्मे

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
ताप्लेजुङका डाँडाकाँडा हिउँले सेताम्मे

मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ।

ताप्लेजुङ- दुई दिन वर्षा भएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन्। मैवाखोला गाउँपालिकाको तीजुरे-मिल्के-जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि चाँदीझैँ सेताम्मे बनेका छन्। मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ।

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार साँझदेखि बाक्लो हिमपात भएको हो। वर्षासँगै सुरु भएको हिमपातले जिल्लाका विभिन्न हिमाली भेग सेताम्मे बनेका छन्। फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपस्थित घुन्सा, फले तथा वडा नं ७ को ओलाङ्चुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ।

त्यस्तै मिक्वाखोला गाउँपालिका-५ पापुङको तोक्पेगोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाका माथिल्ला भेग, मिल्के-जलजले क्षेत्र तथा सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्।

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धामदेखि फेदी बजार हुँदै गुराँसे डाँडासम्म हिउँ जमेको छ।

हिमपातसँगै जिल्लाका हिमाली बस्तीमा चिसो पनि अत्यधिक बढेको छ। विशेषगरी ओलाङ्चुङगोला, याङ्मा, फले र घुन्साजस्ता बस्तीमा चिसो बढेको स्थानीय फुटी शेर्पाले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, चैत ८ २०८२१२:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend