काठमाडौं- पश्चिम एसियाको तीव्र भू-राजनीतिक तनावबीच विश्व व्यापारको प्रमुख नाडी मानिने 'स्टेट अफ हर्मुज' अहिले औपचारिक रूपमा खुला रहे पनि व्यवहारमा ‘डरको नियन्त्रण’मा भएको चित्र स्पष्ट देखिन थालेको छ।
समुद्रमा जहाजहरू चलिरहेका छन् तर ती अब स्वतन्त्र बजारको तर्कमा नभइ जोखिम, संकेत र शक्ति सन्तुलनको सुक्ष्म गणितभित्र सञ्चालन भइरहेका छन्।
बीबीसीले सार्वजनिक गरेको विश्लेषणले यस परिवर्तनलाई ठोस तथ्यांकमार्फत उजागर गर्छ। मार्च महिनाभर जम्मा ९९ जहाज मात्र उक्त जलमार्ग हुँदै पार भएका छन्।
औसतमा दैनिक ५ देखि ६ जहाज युद्धअघि यही मार्गबाट दैनिक १३८ जहाज आवतजावत गर्थे भन्ने संयुक्त समुद्री सूचना केन्द्रको तथ्यांकसँग तुलना गर्दा यो गिरावट करिब ९५ प्रतिशत हो।
विश्वको झण्डै पाँचौं हिस्सा तेल आपूर्ति हुने मार्गमा यस्तो गिरावट आउनु केवल संयोग होइन, बरु गहिरिँदो असुरक्षाको प्रत्यक्ष संकेत हो।

२८ फेब्रुअरीदेखि सुरु भएको इरान वार २०२६ ले समुद्री यातायातलाई प्रत्यक्ष युद्धक्षेत्रमा रूपान्तरण नगरे पनि त्यसको मनोवैज्ञानिक प्रभावले जहाज सञ्चालकहरूलाई पुनः निर्णय लिन बाध्य बनाएको छ। बीमा प्रिमियम अस्वाभाविक रूपमा बढेको छ, चालक दलको सुरक्षाप्रति चिन्ता गहिरिएको छ र प्रत्येक यात्रा अब नाफामूलक व्यापारभन्दा बढी ‘जोखिम व्यवस्थापन’ को विषय बनेको छ।
यही सन्दर्भमा केपलरको विश्लेषणले अर्को महत्वपूर्ण आयाम देखाउँछ। हाल पार भएका जहाजमध्ये करिब एक तिहाइ इरानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित छन्। केही जहाज इरानी झण्डामुनि सञ्चालनमा छन् भने केही अन्तर्राष्ट्रिय प्रतिबन्धको दायरामा परेका तेल कारोबारसँग जोडिएका छन्।
चीनसँग सम्बन्धित कम्पनीका जहाज र भारत गन्तव्य भएका जहाजहरूको उपस्थिति पनि उल्लेखनीय छ। यसले देखाउँछ कि जोखिमपूर्ण अवस्थामा पनि समुद्री यातायात पूर्ण रूपमा बन्द नभई ‘नियन्त्रित रूपमा’ सञ्चालन भइरहेको छ, जहाँ सबैभन्दा बढी सक्रियता इरानसँग जोडिएका सञ्जालहरूमा केन्द्रित छ।

यात्राको स्वरूपमा आएको परिवर्तन अझ गहिरो संकेत बोकेको छ। परम्परागत रूपमा जहाजहरूले जलमार्गको मध्यभाग हुँदै अन्तर्राष्ट्रिय मार्ग प्रयोग गर्थे। तर अहिले कतिपय जहाजहरू इरानी तटसँग नजिकिएर यात्रा गरिरहेका छन्।
र्याण्ड कर्पोरेशन (अमेरिकी रक्षा अनुसन्धान संस्था) का अनुसन्धानकर्ता ब्राड्ली मार्टिनका अनुसार यस्तो मार्ग परिवर्तन सम्भवतः इरानी पक्षसँगको कुनै सहमति वा निर्देशनअन्तर्गत भइरहेको हुन सक्छ। यसले जहाजलाई सुरक्षित ‘पहिचान’मा राख्ने, वा सम्भावित बारुदी सुरुङ जस्ता जोखिमबाट जोगिने रणनीति संकेत गर्छ।
समुद्री विश्लेषकहरूका अनुसार यो अवस्था ‘डरमार्फत नियन्त्रण’ को उदाहरण हो। इरानले जलडमरू औपचारिक रूपमा बन्द गरेको छैन, तर आक्रमणको सम्भावना, समुद्री बारुदी सुरुङको त्रास, ड्रोन तथा मिसाइल जोखिमले जहाज सञ्चालकलाई आफ्नो व्यवहार परिवर्तन गर्न बाध्य बनाएको छ। अब जहाजहरू स्वतन्त्र रूपमा होइन, इरानी तटीय क्षेत्रमा टाँसिएर, स्थानीय नियम र संकेतलाई आत्मसात् गर्दै अघि बढिरहेका छन्। यसले अन्तर्राष्ट्रिय समुद्री मार्गको स्वतन्त्रता क्रमशः सीमित हुँदै गएको देखाउँछ।
यो जोखिम केवल सैद्धान्तिक छैन। इरानी तट आसपास कम्तीमा २० वटा व्यावसायिक जहाजमाथि आक्रमण भइसकेको पुष्टि भएको छ। यी आक्रमणहरूमा ड्रोन, तटीय एन्टी-शिप मिसाइल, मानवरहित सतह जहाज र सम्भावित समुद्री बारुदी सुरुङ जस्ता बहुआयामिक खतरा प्रयोग भएका छन्।
किंग्स कलेज लण्डन अन्तर्गतका सुरक्षाविज्ञहरूका अनुसार यस्तो मिश्रित खतरा हुँदा परम्परागत सुरक्षा संयन्त्र प्रभावहीन बन्न सक्छ, किनकि जहाजहरू एकैपटक हावा, सतह र पानीमुनिबाट आउने आक्रमणको जोखिममा पर्छन्।

यात्रालाई अझ जटिल बनाउने अर्को प्रवृत्ति भनेको जहाजहरूले आफ्नो जहाज ट्र्याकिङ प्रणाली बन्द गरेर ‘अदृश्य’ रूपमा यात्रा गर्नु हो। यसले आक्रमणबाट बच्न सहयोग पुर्याउन सक्छ, तर समुद्री निगरानी र पारदर्शितामा गम्भीर चुनौती थप्छ। जहाजहरू केही समयका लागि नक्साबाट गायब हुन्छन् र पछि फरक स्थानमा देखा पर्छन्, जसले दुर्घटना र गलत आकलनको जोखिम बढाउँछ।
समग्र चित्र हेर्दा हर्मुज जलमार्ग अहिले औपचारिक रूपमा बन्द नभए पनि यसको सञ्चालन चरित्र मौलिक रूपमा बदलिएको छ। यो अब केवल एक अन्तर्राष्ट्रिय जलमार्ग होइन, बरु शक्ति प्रदर्शन, रणनीतिक नियन्त्रण र मनोवैज्ञानिक दबाबको केन्द्र बनेको छ। जहाजहरू पार भइरहेका छन्, तर स्वतन्त्र रूपमा होइन नयाँ ‘अदृश्य नियम’ भित्र, जहाँ सुरक्षा र राजनीति व्यापारभन्दा अगाडि उभिएका छन्।