काठमाडौं- हर्मुज जलमार्ग भएर गुड्ने तेल र तरल प्राकृतिक ग्यासका ट्यांकरहरूले विश्वको कुल आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा ओगट्छन्। तर पर्सियन खाडी मुलुकहरूका लागि यो जलमार्ग ऊर्जाको बाटोमा मात्र सीमित नभइ १० करोडभन्दा बढी मानिसको जीवन बचाउने मुख्य 'लाइफलाइन' समेत हो।
अहिले अमेरिका र इजरायलको इरानसँगको युद्धले यो महत्त्वपूर्ण जलमार्ग अवरुद्ध पारिदिँदा यस क्षेत्रमा खाद्यान्न आपूर्तिको संकट गहिरिँदै गएको छ।
खाडीको कठोर वातावरणमा बाँच्न निकै संघर्ष गर्नुपर्छ। गर्मीमा तापक्रम ५० डिग्री सेल्सियस नाघ्ने र खेतीयोग्य जमिन नभएका कारण अरब राष्ट्रहरूले पिउने पानीका लागि समुद्रको पानीलाई शुद्धीकरण गर्ने गर्छन्। तर उनीहरूले अधिकांश खाद्यान्न भने विदेशबाटै ल्याउनुपर्छ।
साउदी अरबले आफ्नो खाद्यान्नको ८० प्रतिशतभन्दा बढी, संयुक्त अरब इमिरेट्स (यूएई) ले झन्डै ९० प्रतिशत र कतारले करिब ९८ प्रतिशत आयात गर्छन्। इराकमा दुई ठूला नदीहरू भए तापनि अधिकांश खाद्यान्न आयात हर्मुज जलमार्ग भएरै हुने गर्छ।
हाल यस क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भइरहेका आक्रमणका कारण यो मार्ग लगभग बन्द अवस्थामा छ जसले गर्दा खाद्यान्न ढुवानीकर्ताहरू वैकल्पिक मार्गको खोजीमा भौँतारिरहेका छन्। ती वैकल्पिक मार्गहरू महँगो र व्यवस्थापकीय रूपमा कठिन हुनुका साथै तिनले साविकको आपूर्तिलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न पनि सक्दैनन्। यसले गर्दा उपभोक्ताका लागि मूल्य वृद्धि हुने र विकल्पहरू घट्ने सम्भावना बढेको छ।
यहाँसम्म कि इरान आफै पनि आफ्नो धेरैजसो व्यापारका लागि हर्मुज जलमार्गमै निर्भर छ।
आपूर्ति शृंखलामा गम्भीर अवरोध
विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ कि आपूर्ति शृंखला कोभिड-१९ र २०२२ को युक्रेन युद्धपछिकै सबैभन्दा गम्भीर संकटको संघारमा पुगेको छ। डब्लूएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउका अनुसार ढुवानी लागतमा तीव्र वृद्धि भएको छ।
यद्यपि खुद्रा विक्रेताहरूले खाडी क्षेत्रमा तत्कालै भोकमरीको संकट नआउने बताएका छन्। तर युद्धले समुद्री मालढुवानीलाई अस्तव्यस्त बनाइदिएको छ। यूएईमा आधारित ताजा खाना र तरकारी विक्रेता 'किब्सन्स इन्टरनेसनल'ले प्रतिवर्ष ५० हजार टन खाद्यान्न दक्षिण अफ्रिका र अस्ट्रेलियालगायत देशबाट आयात गर्छ। अहिले उसको मुख्य ध्यान ढुवानी मार्ग परिवर्तन गर्नेमा रहेको सीएनएनले लेखेको छ। किब्सन्सका खरिद निर्देशक ड्यानियल काब्राल भन्छन्, 'अहिलेको समयमा आपूर्ति शृंखला अत्यन्तै चुनौतीपूर्ण भएको छ।'
बेलायती सैन्य निगरानी निकाय (यूकेएमटीओ) का अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यस क्षेत्रमा झन्डै दुई दर्जन जहाजमाथि आक्रमण भइसकेको छ। जसमा ओमानको तटमा रहेको एउटा कार्गो जहाज पनि परेको छ। त्यसैले ढुवानी कम्पनीहरू हर्मुज जलमार्ग भएर जाने जोखिम मोल्न तयार छैनन्।
अर्को समस्या भनेको समुद्रमै रहेका जहाजहरूको संख्या हो। काब्रालले सीएनएनलाई बताएअनुसार किब्सन्सका 'टनौँ' खाद्यान्न (विशेषगरी ताजा उत्पादनहरू) बोकेका कन्टेनरहरू अहिले जलमार्गबाहिर जहाजमै रोकिएका छन्। ती कहिले आइपुग्छन् वा कुन बन्दरगाहमा जान्छन् भन्ने कुनै निश्चितता छैन।
व्यापारको बढ्दो मूल्य
ढुवानी सम्झौताका प्राथमिक रूपमा नदेखिने 'युद्धकालीन क्लज'हरू अहिले सक्रिय भएका छन्। यी क्लजहरूले जहाजहरूलाई खतरनाक क्षेत्रमा जानबाट जोगाउँछन् र उनीहरूलाई सामान झार्नका लागि वैकल्पिक बन्दरगाह रोज्ने अधिकार दिन्छन्।
दुबईको जेबेल अली पोर्टका लागि हिँडेको किब्सन्सको एउटा कन्टेनर अहिले भारतको मुन्द्रा पोर्टमा पुगेको छ भने अर्को श्रीलंकाको कोलम्बो पठाइएको छ। तर जमिनसम्म पुग्नु मात्रै समस्याको समाधान होइन। ढुवानी कम्पनीले अब ती सामान भारतमै बेच्ने कि के गर्ने भनेर सोधिरहेका छन्। यस्ता विषयले व्यवसायीलाई अप्ठ्यारोमा पारेको छ।
बीमा कम्पनी र ढुवानी कम्पनीहरूले अहिले सिंगो पश्चिम एसियालाई उच्च जोखिमको क्षेत्रका रूपमा हेरिरहेका छन्। काब्रालका अनुसा, 'पूरै पश्चिम एसिया'का लागि जाने कन्टेनरमा ढुवानी कम्पनीहरूले प्रतिकन्टेनर ४ हजार डलर 'सर्चार्ज' थपेका छन्। जमिनमा ट्रक र व्यवस्थापकीय लागत मात्रै प्रतिकन्टेनर ४ हजारदेखि ९ हजार डलरसम्म पुगेको छ।
युरोपबाट ३४ सय डलरमा आउने कन्टेनरको भाडा अहिले १४ हजार ५ सय डलर पुगेको छ। यो महँगो लागत अन्ततः उपभोक्ताकै भान्सासम्म पुग्छ। काब्रालका अनुसार किब्सन्सले दुग्धजन्य र केही ताजा उत्पादनको मूल्य २० प्रतिशतसम्म बढाउन सक्छ। 'हामीसँग गोदामहरूमा ताजा उत्पादनको करिब एक महिनाको स्टक मात्र बाँकी छ,' कम्पनीले भनेको छ।
हवाई ढुवानी र वैकल्पिक सडक मार्ग
हवाई ढुवानी पनि एक विकल्प हो तर यसमा पनि समस्या देखिएको छ। फेब्रुअरी २८ मा इरानले जवाफी हमला गरेपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल ४८ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको थियो। सोमबार पनि ड्रोन आक्रमणका कारण विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकिएका थिए।
यद्यपि सन् १९२४ देखि यस क्षेत्रमा सक्रिय 'स्पिनिज' जस्ता विक्रेताहरू आफ्नो आपूर्ति शृंखला सुरक्षित गर्न विश्वस्त देखिन्छन्। स्पिनिजका आपूर्ति शृंखला प्रमुख लुइस बोथा भन्छन्, 'हामी भोकै मर्ने अवस्था आउन नदिन भरपुर प्रयत्नरत छौँ।'
विगतका द्वन्द्व र आर्थिक संकटहरू बेहोरेको स्पिनिजले अहिले बेलायतबाट फ्रान्स, टर्की हुँदै इराक र यूएईसम्म ट्रकबाट सामान ल्याउने विकल्प खोजिरहेको छ। बेलायतबाट सिधै जेबेल अली गोदामसम्म सडक मार्गबाट १२ दिनमा सामान ल्याउन सकिने र यो हवाई मार्गभन्दा ४० प्रतिशत सस्तो हुने बोथाको दाबी छ।
सुरक्षा र सैन्य सुरक्षाको प्रश्न
खाडी सहयोग परिषद् (जीसीसी) का सरकारहरूले ओमान र यूएईबीच नयाँ व्यापार करिडोर जस्ता उपायहरू ल्याएर यो अवरोध हटाउने प्रयास गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाजहरूलाई अमेरिकी नौसेनामार्फत सुरक्षा दिने कुरा गरे पनि विज्ञहरू यसमा विश्वस्त छैनन्। 'लोयड्स लिस्ट इन्टेलिजेन्स'का रिचर्ड मिडे भन्छन्, 'अमेरिकी वा युरोपेली नौसैनिक इस्कर्टहरू तत्कालै आउने देखिँदैन।' यदि आए पनि उनीहरूको प्राथमिकता खाद्यान्न बोकेका कार्गो जहाज नभइ 'तेलका ट्यांकर' हुनेछन्।
५ देखि १० वटा ट्यांकरलाई सुरक्षा दिन ८ देखि १० वटा लडाकु जहाज आवश्यक पर्ने मिडेको भनाइ छ। संकटअघि दैनिक ६० वटा ट्यांकर हर्मुज जलमार्ग भएर आवतजावत गर्थे।
ट्रम्प प्रशासन युद्धलाई आफ्नै सर्तमा अन्त्य गर्न दृढ देखिए पनि दिनप्रतिदिन यसको असर युद्धमैदानभन्दा बाहिर फैलिँदै गएको छ। यसले करोडौँ मानिसको खाना र इन्धन आपूर्तिलाई अनिश्चिततातिर धकेलेको छ।