काठमाडौं- सन् २०३० सम्म पुग्दा भारतको जनसंख्याको २७ प्रतिशत हिस्सा जेनजी अर्थात जेनेरेसन जेड पुस्ताको रहने प्रक्षेपण सार्वजनिक भएको छ। उक्त समयसम्म पुग्दा यो पुस्ताको भारतको कुल उपभोगमा १.३ ट्रिलियन (१३ खर्ब) अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको हो।
जेनजी पुस्ताले अनुभव, दिगोपन र डिजिटल सुविधामा केन्द्रित रहँदै उपभोक्ता बजारलाई नयाँ स्वरूप दिने रेडसिर स्ट्रेटेजी कन्सल्टेन्ट्सको एक प्रतिवेदनले देखाएको छ। ‘जेनजी डिफाइनिङ ट्रेन्डस, इनफ्लुएन्सिङ स्पेन्डस’ शीर्षकको उक्त प्रतिवेदनले सन् १९९७ र २०१२ को बीचमा जन्मेको यो जनसांख्यिकीय समूहले कसरी मूल्य-आधारित छनोटलाई प्राथमिकता दिइरहेका छन् भन्ने विश्लेषण गरेको छ।
२०३० सम्म जेनजीले जनसंख्याको ठूलो हिस्सा ओगट्नेछन् र १.३ ट्रिलियन डलरबराबरको उपभोगमा नियन्त्रण जमाउने प्रतिवेदनमा उल्लेख छ। यो पुस्ताले समावेशिता, स्वअभिव्यक्ति र मौलिकतालाई महत्त्व दिँदै वर्गलाई अस्वीकार गर्ने सो अध्ययनले देखाएको छ। आत्म-खोजको यस चरणमा उनीहरूले सौन्दर्य र नयाँ अनुभवहरूलाई प्राथमिकता दिन्छन् जुन कुरा उपभोक्ताका रूपमा उनीहरूको व्यवहारमा प्रतिबिम्बन हुन्छ।
जेनजीको सौन्दर्यप्रतिको जोड उनीहरूको ब्युटी एन्ड पर्सनल केयरतर्फ बढी आकर्षित देखिन्छ। २०३० सम्ममा यो पुस्ताले भारतको (ब्युटी एन्ड पर्सनल केयर) बीपीसी बजारमा झन्डै १९ अर्ब डलरको हिस्सा ओगट्ने अनुमान गरिएको छ।
प्रत्येक दुईमध्ये एक जेनजी महिलाले आफ्नो खर्च गर्न सक्ने आम्दानीको २० प्रतिशतभन्दा बढी हिस्सा बीपीसी उत्पादनहरूमा छुट्याउने गरेको पाइएको छ। छाला, कपाल र शरीरको हेरचाहका लागि विशेष प्राथमिकता दिने जेनजी पुस्ताले प्रयोग गर्ने उत्पादनहरूको औसत संख्या दोब्बर भएको छ।
यो पुस्ताको उत्पादन छनोटले विशिष्ट सामग्रीहरूभन्दा समाधानहरूलाई प्राथमिकता दिँदै आएको छ। यसले गर्दा उनीहरूले आफ्नो आवश्यकतालाई राम्रोसँग सुहाउने उत्पादनहरूका साथ प्रयोग गर्दा ब्रान्ड लोयल्टीमा कमी आउने प्रतिवेदनमा उल्लेख भएको इकोनोमिक टाइम्सले लेखेको छ। जेनजीहरूमाझ सौन्दर्य सामग्रीको प्रयोगमा लैंगिक-रहित (जेन्डरलेस) हुने गरेको पनि पाइएको छ। यसमा युवा पुरुषहरूले ठूलो संख्यामा मेकअप र व्यक्तिगत हेरचाहका विधिहरू उल्लेख्य रूपमा बढ्दै गइरहेको छ।
पुरुषहरूको छाला हेरचाहमा चासो व्यापक वृद्धि भएको छ। किनकि विगत पाँच वर्षमा ‘मेन्स स्किनकेयर रुटिन’को खोजी भारतमा ८ सय ५० प्रतिशतले बढेको सो प्रतिवेदनमा भनिएको छ। पुरुषहरूको सौन्दर्य प्रसाधन र मेकअप एक उदीयमान व्यावसायिक क्षेत्र बनेको छ। किनभने धेरै जेनजी पुरुषहरूले डन्डीफोर लुकाउने, फिलर्स, रौँ हटाउने र आँखीभौँ मिलाउने लगायतमा धेरै चासो दिइरहेका छन्।
यसबाहेक २०३० सम्ममा जेनजीले फेसन (लुगाफाटा, जुत्ता र एसेसरिज) उद्योगको आधा हिस्सालाई ड्राइभ गर्नेछन्। १ हजार भारतीय रुपैयाँभन्दा कम मूल्यका फास्ट फेसन सामग्रीहरू अझै पनि रोजाइको प्राथमिक सूचीमा छन्। जेनजी भारतका प्रमुख फेसन ईकमर्स साइटहरूमा सबैभन्दा ठूलो प्रयोगकर्ता समूह बनेका भए तापनि उनीहरूको प्रतिखरिद औसत खर्च पुरानो पुस्ता (मिलनियल) को तुलनामा करिब आधा रहेको प्रतिवेदनले औँल्याएको छ।
यसैगरी फिटनेस जेनजीको प्राथमिकताको सूचीमा रहेको अर्काे विषय हो। फिटनेस तथा खेलकुदमा एक तिहाइ जेनजीले आफ्नो आम्दानीको कम्तीमा २० प्रतिशत खर्च गरिरहेका छन्।
भारतीय बजारमा एथ्लिजरको बिक्री वार्षिक रूपमा दोब्बर भएको छ। अनलाइन बजारहरूमा उपलब्ध किफायती खेलकुद पोसाकहरूले नयाँ पुस्ताको सो प्रवृत्तिलाई सहयोग गरिरहेको छ। यस्ता प्लेटफर्महरूमा १० वटा सबैभन्दा बढी बिक्री हुने स्पोर्टस ब्रान्डहरूमध्ये ६ वटाको मूल्य ५ सयदेखि १ हजार भारतीय रुपैयाँको बीचमा छ।
यसका साथै स्वस्थ खानपानको लहरले वैकल्पिक प्रोटिनको माग बढाएको छ जहाँ नियमित व्यायाम गर्ने ४० प्रतिशत जेनजीहरूले यी स्रोतहरूलाई प्राथमिकता दिएका छन्। २०२४ र २०२५ को बीचमा क्विक कमर्स प्लेटफर्महरूमा प्रोटिन सप्लिमेन्टको सूचीकरण २३० प्रतिशतले बढेको छ। यसबाट जेनजी पुस्ताले सन्तुलित पोषणलाई प्राथमिकता दिएको बुझ्न सकिन्छ।
उक्त प्रतिवेदनअनुसार २०३० सम्ममा जेनजी पुस्ताले फिटनेस र खेलकुद उपभोगमा ४० अर्ब डलरभन्दा बढी खर्च गर्नेछन्।