म्याग्दी- मंगला गाउँपालिका-२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक निर्माण थालिएको छ।
मंगला गाउँपालिका र हिदीका बासिन्दाहरूको साझेदारीमा हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क हुँदै मालिकाको फेदीमा रहेको जोगी देउराली जोड्ने योजना निर्माण सुरु भएको हो।
मंगला गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको २१ लाख रुपैयाँ बजेटबाट थालिएको हिदी-मालिका सडक निर्माण योजनालाई गाउँलेहरूले चन्दा संकलन गरेर निरन्तरता दिएका छन्। हिदी-मालिका सडक योजनाको उपभोक्ता समितिका अध्यक्ष थमप्रसाद पुनले गाउँपालिकाको बजेटबाट हिदीदेखि सुर्ती चढाउने डाँडासम्म दुई किलोमिटर ५०० मिटर सडकको मार्ग खुलिसकेको जानकारी दिए।
'गाउँपालिकाले विनियोजन गरेको बजेट सकिए पनि गाउँलेहरूले चन्दा उठाएर सुर्ती चढाउने डाँडादेखि गिद्रे देउरालीतर्फ सडक निर्माणलाई निरन्तरता दिएका छौँ,' उनले भने, 'सुर्ती चढाउने डाँडादेखि धौलाखर्कसम्म थप एक किलोमिटर सडकको मार्ग खुलेको छ। थप ५०० मिटर मार्ग बनाएपछि गिद्रे देउरालीसम्म सडक पुग्छ।'
१८ लाख रुपैयाँ संकलन गरेर जोगी देउरालीसम्म सडक पुर्याउने हिदीवासीको योजना छ। अध्यक्ष पुनका अनुसार पहिलो चरणमा गिद्रे देउराली जोड्ने सडकका लागि ६ लाख रुपैयाँ चन्दा सहयोग जुटेको छ। सुर्ती चढाउने डाँडादेखि गिद्रे देउराली पहिलो खण्ड र गिद्रे देउरालीदेखि जोगी देउरालीलाई दोस्रो खण्ड मानेर सहयोग संकलन अभियान सञ्चालन भएको छ।
हिदीका बासिन्दा, पेसा, व्यवसाय र रोजगारीको सिलसिलामा प्रवास तथा देशका विभिन्न ठाउँमा रहेकाहरूबाट चन्दा संकलन अभियान सञ्चालन भएको अध्यक्ष पुनले बताए। जोगी देउरालीसम्म गाडी चल्न थालेपछि बेनीदेखि हिदी हुँदै चार घण्टामा मालिका पुग्न सकिने बताइएको छ।
पैदलयात्रा गरेर हिदीदेखि मालिका पुग्न चारदेखि पाँच घण्टा लाग्ने गरेको छ। यातायातको सुविधा भएमा यात्रा अवधि दुई घण्टामा छोटिने र यो सडक बेनीदेखि मालिका जोड्ने सबैभन्दा छोटो दूरीको हुने हिदीवासीको दाबी छ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम बाइन्दफाँट र रघुगंगा गाउँपालिकाको ठाडाखानी हुँदै मालिकाको फेदीसम्म दुईतर्फबाट सडक पुगिसकेको छ। समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको मालिका मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित छ।
यहाँबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जन बढी हिमालहरूका साथै सूर्योदय, सुर्यास्त, पहाडी भूगोल र वन जंगलको अवलोकन गन सकिन्छ। चण्डी, जेष्ठी र कार्तिक पूर्णिमामा विशेष दर्शन र पूजाआजा हुने यस मन्दिरमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा कालिका, मालिका र जालपादेवीको मूर्ति छन्। रासस
