बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बागमती प्रदेश सरकारले ८ महिनामा लक्ष्यको ३६.२९ प्रतिशत राजस्व संकलन गर्‍यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ६ २०८२
बागमती प्रदेश सरकारले ८ महिनामा लक्ष्यको ३६.२९ प्रतिशत राजस्व संकलन गर्‍यो

आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा दुई अर्ब ५६ करोड दुई लाख चार हजार राजस्व संकलन भएको छ।

बागमती- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६.२९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड २ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।  

घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ। आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व संकलन गर्ने तोकिएको लक्ष्यको तुलनामा ४५ दशमलव १३ प्रतिशत अर्थात् १३ अर्ब ९३ करोड ९७ लाख १५ हजार राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिए। 

आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा दुई अर्ब ५६ करोड दुई लाख चार हजार राजस्व संकलन भएको छ। 

यसैगरी प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा आठ अर्ब २५ करोड लक्ष्य तोकिएकोमा चार अर्ब ४४ करोड ९३ लाख ४० हजार राजस्व मात्र संकलन गरेको छ।

प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा पाँच अर्ब चार करोड ६५ लाख १७ हजार संकलन भएको छ भने अन्तःशुल्क करबापत चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा एक अर्ब ७५ करोड तीन लाख ३६ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा त्यसको ५३ दशमलव ६० प्रतिशत अर्थात् सात अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको अधिकृत पौडेलले बताए।

यस्तै चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा लक्ष्यको ५२ दशमलव ३५ प्रतिशत अर्थात् दुई अर्ब ५० करोड १२ लाख १८ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद-बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षति लगायतका कारणले अपेक्षाकृत  राजस्व संकलन हुन नसकेको उनको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, चैत ६ २०८२१६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend