काठमाडौं- अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि कतारका अमिरले कुटनीतिक समाधानको पक्षमा आवाज उठाउँदै आइरहँदा युद्धको मार कतारमाथि नै पनि बढ्दो छ। युद्ध रोक्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको अन्य राष्ट्रका लागिसमेत पछिल्लो समय ठूलो धक्का पुगिरहेको छ।
पछिल्लो समय विश्वकै सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास केन्द्रमा इरानले आक्रमण गरेको छ। कतारले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्माण गर्न प्रयास गरिरहँदा यो आक्रमण भएको हो।
इरानले विश्वकै सबैभन्दा ठूलो एलएनजी (तरलीकृत प्राकृतिक ग्यास केन्द्र) केन्द्र तथा कतारको अर्थतन्त्रको जीवनरेखा मानिने रास लाफानमा मिसाइल प्रहार गरेसँगै युद्धका कारण अहिले इरानपछि सबैभन्दा ठूलो क्षति कतारले नै ब्यहोरेको छ।
यस आक्रमणको प्रभाव केवल दोहामा मात्र सीमित रहने छैन। यसको असर विश्वव्यापी रूपमा महसुस हुनेछ। क्षति केवल आर्थिक मात्र होइन त्यसभन्दा बढी छ। आर्थिक तथा औद्योगिक रूपमा कतार पुनः उकासिन सक्छ। तर कतारले बनाएको सुरक्षित देशको छवि र विकासको इन्जिनको रूपमा रहेको पहिचानमा ठूलो प्रश्न उठेको छ।
फाइनान्सियल टाइम्सले कतारी ऊर्जामन्त्री साद अल काबीलाई उद्धृत गर्दै लेखेअनुसार अहिले भएको क्षति मर्मत गर्न ३ देखि ५ वर्ष लाग्नेछ। यसले सरकारी स्वामित्वको कतार इनर्जीको एलएनजी निर्यात क्षमताको १७ प्रतिशत भाग प्रभावित पार्नेछ। यसले युरोप र एसियाका बजारहरूमा आपूर्ति घटाउनेछ र वार्षिक करिब २० अर्ब डलर बराबरको राजस्व घाटा हुनेछ। यो दीर्घकालीन प्रभाव पार्ने ठूलो नकारात्मक धक्का हो।
विश्वकै दोस्रो ठूलो एलएनजी उत्पादक कतार इनर्जीले युद्धको सुरुवाती दिनमै ड्रोन आक्रमणपछि रास लाफानमा सञ्चालन स्थगित गरिसकेको थियो। युद्धका कारण ६ वटा खाडी देशको कुल अनुमानित १२ अर्ब डलर बराबरको क्षतिमा झन्डै आधा हिस्सा कतारकै हुने अनुमान छ।
युद्ध सुरु हुनुअघि दोहाले विश्वकै ठूलो ग्यास क्षेत्र नर्थ फिल्डबाट ३० अर्ब डलर बराबरको उत्पादन विस्तारको तयारी गरिरहेको थियो। यसले २०२७ सम्म उत्पादन क्षमता वार्षिक १२६ मिलियन टन पुर्याउने लक्ष्य राखेको थियो। जुन २०२४ को विश्वव्यापी एलएनजी मागको करिब ३० प्रतिशतबराबर हो।
उक्त सम्भावित आम्दानीलाई ध्यानमा राख्दै कतार इन्भेस्टमेन्ट अथोरिटीले पछिल्ला पाँच वर्षमा कर्मचारी संख्या लगभग दोबर बनाएको थियो। उसले आगामी पाँच वर्षमा आफ्नो सम्पत्ति दोबर हुने र ठूलो लगानी सम्झौताहरू गर्ने योजना बनाएको थियो। तर अहिले ती योजनाहरू दबाबमा पर्ने देखिन्छ। किनकि ग्यास आम्दानीदेशको प्रमुख राजस्व स्रोतमा अर्बौँ डलरको कमी आउन सक्छ। यसअघि नै ऊर्जामन्त्री काबीले द्वन्द्वका कारण एलएनजी विस्तार ढिलो हुने बताएका थिए।
कतारसँग अहिले संकट व्यवस्थापनका लागि पर्याप्त वित्तीय सञ्चिति भने छ। यदि उत्पादन अवरोध छोटो समयका लागि मात्र भयो भने उच्च ग्यास मूल्यले घाटा केही हदसम्म पूर्ति गर्न सक्छ तर युद्ध लामो समयसम्म चलेमा र इरानले हर्मुजको मार्ग बन्दको अवस्था कायम राखेमा स्थिति जटिल बन्नेछ।
राजस्व कमीको असर कम गर्न कतारले खर्च घटाउनुपर्ने वा सञ्चित कोष प्रयोग गर्नुपर्ने हुन सक्छ। यसले विदेशी सम्पत्ति बिक्री गरी स्वदेश ल्याउने अवस्थासमेत सिर्जना गर्न सक्छ।
यसअघि पनि सन् २०१७ मा साउदी अरब र संयुक्त अरब इमिरेट्सले कतारमाथि नाकाबन्दी लगाएपछि कतार इन्भेस्टमेन्ट अथोरिटीले २० अर्ब डलरभन्दा बढी रकम स्वदेश ल्याएर अर्थतन्त्र स्थिर बनाएको थियो।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि क्षेत्रीय द्वन्द्व अन्त्यका लागि गरिने प्रयासमा कतार अग्रसर रहँदै आएको थियो। यसैले पनि अहिलेको अवस्था कतारी नेतृत्वका लागि निराशाजनक पक्ष हो। यो पछिल्ला ३० वर्षकै सबैभन्दा गम्भीर धक्का पनि हो। नाकाबन्दीलाई त सफलतापूर्वक सामना गरेको कतारलाई यो भौतिक संरचनामाथिको प्रत्यक्ष आक्रमण टार्न कठिन हुनेछ।
कतारले यसअघि आफ्नो कमजोरीलाई ध्यानमा राख्दै सन्तुलित सम्बन्धमा आधारित सुरक्षा रणनीति अपनाएको थियो। साथै अमेरिकासहित युरोपेली शक्तिहरूसँग सम्बन्ध सुदृढ बनाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको थियो। हमासदेखि तालिबानसम्म र निकोलस मादुरोसँग समेत संवाद गर्न सक्ने विश्वसनीय पक्षका रूपमा कतारअघि बढेको थियो। तर पछिल्लो घटनाले यस्तो सम्बन्ध र अमेरिकासँगको निकटता मात्र सुरक्षा सुनिश्चित गर्न पर्याप्त छैन भन्ने देखाएको छ।
इजरायलसँग मिलेर अमेरिकाले इरानविरुद्धको युद्ध सुरु गरेपछि इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल प्रहार गरेको थियो। त्यसको तीन महिनापछि इजरायलले दोहास्थित हमासको राजनीतिक कार्यालयलाई लक्षित गर्दै हवाई आक्रमण गर्यो। त्यसपछि ट्रम्पले कतारको सुरक्षा सुनिश्चित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। अहिलेको युद्ध सुरु हुनुअघि पनि दोहाले वासिङ्टन र तेहरानबीच सन्देश आदानप्रदान गराउँदै मध्यस्थता गर्ने प्रयास गरेको थियो। तर ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुले आक्रमण सुरु गरेपछि कतार र उसका छिमेकी खाडी राष्ट्रहरू इरानको कडा प्रतिकारको निशाना बने।