काठमाडौं- साउदी अरबले तेल निर्यातको विश्वव्यापी प्रमुख मार्ग होर्मुज स्ट्रेटमा अप्रिलको अन्त्यसम्म अवरोध कायम रहे तेलको मूल्य प्रतिब्यारेल १ सय ८० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ।
द वाल स्ट्रिट जर्नलका अनुसार गएको फेब्रुअरी २८ मा इरान-इजरायल युद्ध सुरु भएयता तेल बजारमा तीव्र उतारचढाव देखिएको छ। हिजो बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रतिब्यारेल १ सय १९ डलर पुगेको थियो तर त्यसपछि घटेको थियो।
पश्चिम एसियामा चलिरहेको द्वन्द्वले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता सिर्जना गरेको छ। इरानले कतारको सबैभन्दा ठूलो ऊर्जा केन्द्र रास लफान ग्यास फिल्डमाथि आक्रमण गरेपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघ्यो।
अहिलेसम्म युद्ध रोकिने कुनै संकेत छैन। यदि इरानले होर्मुज जलसन्धिमाथि आफ्नो पकड थप कडा बनायो भने विश्वको तेल व्यापारको सबैभन्दा संवेदनशील ढोकामा ताल्चा लाग्न सक्छ। यसले विश्व अर्थतन्त्रलाई गहिरो धक्का पुर्याउने खतरा बढाउँछ। विश्वको कुल तेल व्यापारको करिब २० प्रतिशत यही जलसन्धिबाट हुने गर्दछ।