काठमाडौं- पश्चिम एसियामा इरान-इजरायल द्वन्द्वले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता सिर्जना गरेको छ। इरानले कतारको सबैभन्दा ठूलो ऊर्जा केन्द्र रास लफान ग्यास फिल्डमाथि आक्रमण गरेपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ भने अमेरिकी डब्लूटीआई ९६ डलरमा कारोबार भइरहेको छ। युरोपेली प्राकृतिक ग्यास फ्युचर्स एकैदिन २५ प्रतिशतभन्दा माथि पुगेर प्रतिमेगावाट-घण्टा ६८ युरो नाघेको छ।
इरान-इजरायल युद्धको पछिल्ला घटनाक्रमअनुसार इजरायलले इरानको साउथ पार्स ग्यास फिल्ड र असालुयेह तेल सुविधामा आक्रमण गरेपछि प्रतिशोधस्वरूप इरानले कतारको रास लफान ग्यास फिल्डमा प्रहार गरेको हो। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले खाडीका ऊर्जा प्रतिष्ठानहरूलाई पुनः ‘वैध लक्ष्य’ घोषणा गरेको छ।
बुधबार साँझदेखि सुरु भएको आक्रमणको लहर बिहीबार फैलिँदै गयो। कतारको तरल प्राकृतिक ग्यास (एलएनजी) सुविधा आगोको नियन्त्रण बाहिर पुगेको छ भने कुवेतका दुई ठूला तेल परिष्करण केन्द्र-मिना अल-अहमदी (दैनिक ७ लाख ३० हजार ब्यारेल उत्पादन क्षमता) र मिना अब्दुल्लामा ड्रोन आक्रमण र आगलागी भएको छ।
त्यसैगरी संयुक्त अरब इमिरेट्सको तट नजिक जहाज जलेको र कतार नजिकको अर्को जहाज क्षतिग्रस्त भएको समाचार पनि आएको छ। अबुधाबी आफ्नो हाब्सान ग्यास सुविधा र बाब तेल क्षेत्र बन्द गर्न बाध्य भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको एलएनजी सुविधामाथि थप आक्रमण भए अमेरिकी सेनाले इरानको साउथ पार्स ग्यास फिल्डमाथि ठोस कारबाही गर्ने चेतावनी दिएका छन्। तर इरानले आफ्नो आक्रमण जारी राखेको र खाडी छिमेकीहरूमाथि दबाब बढाएको छ।
कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले यस कदमको कडा निन्दा गर्दै यसलाई ‘खतरनाक उत्तेजना’ बताएका छन्। साउदी अरेबियाका शीर्ष कूटनीतिज्ञले बाँकी रहेको थोरै विश्वाससमेत पूर्ण रूपमा नष्ट भइसकेको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
हाल ब्रेन्ट क्रुड ११४ डलरमाथि कारोबार भइरहेको छ। युद्ध रोकिने कुनै संकेत छैन। यदि इरानले होर्मुज जलसन्धिमाथि आफ्नो पकड थप कडा बनायो भने विश्वको तेल व्यापारको सबैभन्दा संवेदनशील ढोकामा ताल्चा लाग्न सक्छ, जसले विश्व अर्थतन्त्रलाई गहिरो धक्का पुर्याउने खतरा बढाउँछ। विश्वको कुल तेल व्यापारको करिब २० प्रतिशत यही जलसन्धिबाट हुने गर्दछ।