बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

अमेरिकी केन्द्रीय बैंकको ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतमै स्थिर राख्ने निर्णय

बिहीबार , चैत ५ २०८२
अमेरिकी केन्द्रीय बैंकको ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतमै स्थिर राख्ने निर्णय

फेडका अध्यक्ष जेरोम पावेलले पश्चिम एसियामा जारी द्वन्द्वका कारण बढ्दो तेलको मूल्यले निकट भविष्यमा मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्ने बताएका छन्। उनका अनुसार श्रम बजार अपेक्षाकृत स्थिर रहे पनि मूल्यवृद्धि अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।

काठमाडौं-अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले बजारको अपेक्षाअनुसार संघीय कोष दर यथावत् राख्ने निर्णय गरेको छ। बुधबार बसेको संघीय खुला बजार समितिको बैठकले दरको लक्ष्य दायरा ३.५ देखि ३.७५ प्रतिशतमा कायम राख्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

समितिले सार्वजनिक गरेको विज्ञप्तिअनुसार हाल उपलब्ध आर्थिक सूचकहरूले अमेरिकी अर्थतन्त्र ठोस गतिमा विस्तार भइरहे पनि श्रम बजारमा केही मन्दी देखिएको छ। रोजगारी वृद्धि न्यून रहेको र पछिल्ला महिनाहरूमा बेरोजगारी दरमा उल्लेखनीय परिवर्तन नभएको उल्लेख गर्दै समितिले मुद्रास्फीति अझै अपेक्षाभन्दा केही उच्च रहेको जनाएको छ। साथै समग्र आर्थिक दृष्टिकोणबारे अनिश्चितता उच्च नै रहेको पनि फेडले औँल्याएको छ।

निर्णय प्रक्रियामा सहभागी १२ सदस्यहरूमध्ये ११ जनाले ब्याजदर यथावत् राख्ने पक्षमा मतदान गरेका थिए, जसले वर्तमान मौद्रिक नीति सावधानीपूर्वक अघि बढाइएको संकेत गर्दछ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै फेडका अध्यक्ष जेरोम पावेलले पश्चिम एसियामा जारी द्वन्द्वका कारण बढ्दो तेलको मूल्यले निकट भविष्यमा मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्ने बताएका छन्। उनका अनुसार श्रम बजार अपेक्षाकृत स्थिर रहे पनि मूल्यवृद्धि अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।

फेडले यस वर्ष मुद्रास्फीति क्रमशः घट्दै जाने प्रक्षेपण गरेको भए पनि ऊर्जा मूल्यको अनिश्चितता र भूराजनीतिक जोखिमका कारण नीतिगत निर्णयमा सावधानी अपनाउनुपर्ने अवस्था कायम रहेको संकेत दिएको छ।


प्रकाशित : बिहीबार , चैत ५ २०८२११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend