बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मुआब्जा विवादले बर्दिबासमा पूर्व-पश्चिम रेल्वेको काम रोकियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ५ २०८२
मुआब्जा विवादले बर्दिबासमा पूर्व-पश्चिम रेल्वेको काम रोकियो

परिवारका नाममा जग्गा नहुनु, जग्गा फिल्डबुकमा देखिए पनि अर्कैको नाउँमा हुनुले सडक छेउमै हुँदासमेत यसको समाधान पहिल्याउन विशेष निर्णय नै पर्खिनपर्ने भएको छ।

महोत्तरी- मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकिएको छ। बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो।

भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भंगाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भंगाहाबाट बर्दिबाससम्मको काम रोकिएको छ।

चौध जनालाई सातदेखि आठ करोड रुपैयाँ मुआब्जा तिर्न बाँकी छ। विभागले रकम निकासका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ।

बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा उनीहरुले यसअघि धेरै पटक काम रोक्ने चेतावनी दिए पनि रेल्वेले सुनुवाई नगरेपछि अन्ततः पीडितहरुले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका छन्। 

रेल विभागले अधिग्रहण गरेको सडकसँगै जोडिएको जग्गा मुआब्जा वितरणका बेला नक्सामा सडक नदेखिएको भनेपछि कतिपय स्थानीयसँग विवाद बढेको छ। बर्दिवास-१४ को खोल्सीपैनी पश्चिमका लागि समितिले गरेको वर्गीकरण त्यही ठाउँको आफ्नो जग्गामा फरक परेको भन्दै ३५ किसान आन्दोलित भएपछि रेल्वेको भंगाहा-बर्दिवास खण्डको निर्माण यसअघि पनि रोकिएको थियो।

जयनगर-बर्दिवास रेल्वेतर्फ अब वर्गीकरणमा भएको त्रुटि सच्चिएपछि ट्र्याक निर्माण कार्य अघि बढ्ने वातावरण बन्दै गएको भएपनि बर्दिवास-१४ मै पूर्व-पश्चिम रेलमार्गमा परेका १४ परिवारको घर उठाउन भने अझै समस्या रहेको हो। १४ घरपरिवारको मुआब्जा विवाद अझै जटिल नै छ।

यी परिवारका नाममा जग्गा नहुनु, जग्गा फिल्डबुकमा देखिए पनि अर्कैको नाउँमा हुनुले सडक छेउमै हुँदासमेत यसको समाधान पहिल्याउन विशेष निर्णय नै पर्खिनपर्ने भएको छ।

१४ घरपरिवार बसोबास गरेको जग्गा फिल्डबुकमा स्व निरबहादुर हमालको नाउँ भेटिएको छ। फिल्डबुकमा नाउँ भए पनि जग्गाधनी प्रमाणपुर्जा बन्नुअघि नै उनको निधन भयो। अहिले स्व हमालले नै बसाएका उक्त परिवार ४० वर्षदेखि बस्दै आएको ठाउँबाट विस्थापित हुने भएका छन्। रासस


प्रकाशित : बिहीबार , चैत ५ २०८२११:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend