बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

फागुनमा घरजग्गा कारोबार २८ प्रतिशतले घट्यो, राजस्वमा समेत गिरावट

मंगलबार, चैत ३ २०८२
फागुनमा घरजग्गा कारोबार २८ प्रतिशतले घट्यो, राजस्वमा समेत गिरावट

निर्वाचनपछि नयाँ सरकार गठन हुने चरणमा रहेकाले नीति स्थायित्वसँगै आगामी महिनामा घरजग्गा कारोबार पुनः सुधार हुने अपेक्षा व्यवसायीहरूले व्यक्त गरेका छन्।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनामा देशभर घरजग्गा कारोबारमा गिरावट आएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार फागुनमा कुल ३६ हजार ४ सय ७१ कित्ता घरजग्गा किनबेच भएको छ।

यो संख्या अघिल्लो महिना माघको तुलनामा २८.२५ प्रतिशतले कम हो। माघ महिनामा देशभर ५० हजार ८ सय ३७ कारोबार भएको थियो।

गत वर्षको सोही अवधिसँग तुलना गर्दा पनि बजार संकुचनमा देखिएको छ। अघिल्लो वर्षको फागुनमा ४६ हजार हाराहारीमा कारोबार भएकोमा यस वर्ष करिब २० प्रतिशतले कमी आएको विभागले जनाएको छ।

कारोबारसँगै सरकारको राजस्व संकलनमा पनि असर परेको छ। माघ महिनामा घरजग्गा कारोबारबाट करिब ५ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा भने ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ।

सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन (दर्ता) दस्तुर, पुँजीगत लाभकरलगायत शीर्षकमा राजस्व उठाउँदै आएको छ। तीमध्ये रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर मुख्य स्रोतका रूपमा रहेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन तथा सोसँग जोडिएका सार्वजनिक बिदाले बजार गतिविधिमा असर पार्दा कारोबार घटेको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि निर्वाचनपछि नयाँ सरकार गठन हुने चरणमा रहेकाले नीति स्थायित्वसँगै आगामी महिनामा घरजग्गा कारोबार पुनः सुधार हुने अपेक्षा व्यवसायीहरूले व्यक्त गरेका छन्।


प्रकाशित : मंगलबार, चैत ३ २०८२१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend