बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरपालिकाले छुट्यायो तीन करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ३ २०८२
फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरपालिकाले छुट्यायो तीन करोड रुपैयाँ

वातावरण प्रभाव मूल्यांकनका लागि आवश्यक तथ्यांक र कागजातहरु उपलब्ध गराइसकिएको छ। मन्त्रालयले वातावरण प्रभाव मूल्यांकन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ।

चितवन- भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका-११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक तीन करोड रुपैयाँ बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ।

महानगरपालिकाले यसअघि नै पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको छ। मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिए।

उनका अनुसार वातावरण प्रभाव मूल्यांकनका लागि आवश्यक तथ्यांक र कागजातहरु उपलब्ध गराइसकिएको छ। मन्त्रालयले वातावरण प्रभाव मूल्यांकन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ।

जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै पाँच करोड १९ लाख ७५ हजार भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताए। अब रोपिने बिरुवा संरक्षणका लागि एक करोड ९० लाख विनियोजन गरिएको हो।

हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर संकलन हुने गरेको छ जसलाई आँपटारीको नजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, चैत ३ २०८२१७:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend