काठमाडौं- नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सार्वजनिक ऋणको हिस्सा बढ्दै ४७ दशमलव १३ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले कुल २८ खर्ब ७८ अर्ब २९ करोड सार्वजनिक ऋण लिँदा यस्तो अनुपात देखिएको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा आठ महिनाको अवधिमा उल्लेख्य वृद्धि हुँदै फागुन मसान्त २ खर्बभन्दा बढीले बढेर २८ खर्ब ७८ अर्ब नाघेको छ।
कुल सार्वजनिक ऋण संरचनामा वैदेशिक ऋणको हिस्सा अझै उच्च देखिएको छ। फागुन मसान्तसम्ममा वैदेशिक ऋण ५३ दशमलव १६ प्रतिशत रहेको छ भने आन्तरिक ऋण ४६ दशमलव ८४ प्रतिशतमा सीमित छ। यस अवधिमा मात्रै सरकारले २ खर्ब ४ अर्ब २४ करोड नयाँ सार्वजनिक ऋण थपेको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म २ खर्ब ९५ अर्ब १९ करोड मात्र प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ५० दशमलव ४४ प्रतिशत हो। स्रोतका आधारमा हेर्दा आन्तरिक ऋण संकलन तुलनात्मक रूपमा अगाडि देखिएको छ, जसको प्रगति ६७ दशमलव ३१ प्रतिशत पुगेको छ। यता वैदेशिक ऋण प्राप्ति भने २४ दशमलव ३१ प्रतिशतमा सीमित रहेको छ।
ऋण सेवा खर्च पनि उल्लेख्य रूपमा बढ्दो छ। चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले ऋण सेवा (सावा र ब्याज भुक्तानी)का लागि ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरेकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड खर्च भइसकेको छ। यो वार्षिक विनियोजनको ५८ दशमलव ९४ प्रतिशत हो।