बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

ग्यासको अवैध कारोबार भएको सूचना पाए जानकारी दिन विभागको अनुरोध

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ३ २०८२
ग्यासको अवैध कारोबार भएको सूचना पाए जानकारी दिन विभागको अनुरोध

विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भए तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुरोध गरेको छ।

पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आम उपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो।

नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने गरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ। विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

विभागले सञ्चालनमा रहनेगरी निःशुल्क रूपमा टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको र देशभरका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने जनाएको छ। पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ। अनुमगनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले प्रस्ट पारेको छ।

ग्यासको माग उच्च रहेको विषम अवस्थामा आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृत्रिम अभावलगायत गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाइएको छ। विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानूनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानूनी क्रियाकलाप नगर्न सचेत गराएको छ।

सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। सो उद्योगको ललितपुर हरिसिद्धिमा रहेको गोदाममा लुकाएर राखेको १४.२ किलोग्राम तौलका ६ हजार ३ सय ७७ सिलिण्डर फेला परेको विभागले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, चैत ३ २०८२१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend