काठमाडौं- पश्चिम एसियामा चर्किंदै गएको अमेरिका-इरान द्वन्द्वले विश्व ऊर्जा बजारमा गम्भीर अस्थिरता सिर्जना गरेपछि त्यसको प्रभाव नेपालसम्म फैलिन थालेको छ। पेट्रोलियम पदार्थ र त्यससँग सम्बन्धित कच्चा पदार्थको आपूर्ति अवरुद्ध हुन थालेपछि नेपालका औद्योगिक क्षेत्र प्रत्यक्ष प्रभावित भएका छन्।
देशभरका औद्योगिक कोरिडोरमा सञ्चालनमा रहेका उद्योगहरूले आवश्यक कच्चा पदार्थको आपूर्ति अनिश्चित बन्दै गएको बताएका छन्। उपलब्ध भएको अवस्थामा पनि कच्चा पदार्थको मूल्य उल्लेख्य रूपमा बढेकाले उत्पादन लागतमा तीव्र वृद्धि भइरहेको उद्योगीहरूको भनाइ छ। यसको प्रत्यक्ष असर बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि र उत्पादन घट्ने जोखिमका रूपमा देखिन थालेको छ।
उद्योगीहरूका अनुसार खाद्यान्न, वनस्पति तेल, जुत्ताचप्पल, धागो, कपडा, सिमेन्ट तथा फलामजन्य सामग्रीको मूल्य बढ्ने संकेत देखिएको छ। खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको सम्भावित मूल्यवृद्धिबाहेक ढुवानी र प्याकेजिङ क्षेत्रमा प्रयोग हुने प्लास्टिक दानाको अभाव तथा मूल्यवृद्धिले विभिन्न उद्योगको लागत थप बढाएको छ।
पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढिरहेको छ। बजार खुल्ने क्रममा प्रमुख तेल सूचकहरूको मूल्य १०० डलरभन्दा माथि पुगेको छ।
पेट्रोलियम तथा त्यससँग सम्बन्धित कच्चा पदार्थमा निर्भर उद्योगहरू अहिले उत्पादन कटौती गर्न बाध्य भएका छन्। उद्योगीहरूका अनुसार केही उद्योगहरूले उत्पादन करिब ४० प्रतिशतसम्म घटाइसकेका छन्।
पहिले खोलिएका एलसीमार्फत आउने कच्चा पदार्थ ढिला भइरहेको छ भने नयाँ एलसीमार्फत सामग्री आयात गर्नसमेत कठिन अवस्था सिर्जना भएको उद्योगीहरू बताउँछन्। प्याकेजिङ लागत बढ्दा सिमेन्ट उद्योगमा प्रयोग हुने बोरा महँगिएको छ भने फलामजन्य सामग्रीमा ढुवानी खर्च बढेका कारण प्रतिकिलो करिब ३ रुपैयाँसम्म मूल्य वृद्धि भइसकेको छ। लोड भइसकेको जहाजमा समेत प्रतिटन करिब ३०० डलरसम्म अतिरिक्त लागत बढेको उद्योगीहरूले बताएका छन्।
ढुवानी र प्याकेजिङ लागत बढ्दा यसको असर दैनिक उपभोग्य वस्तुमा पनि देखिन थालेको छ। प्लास्टिक उद्योगहरूले उत्पादन करिब ४० प्रतिशतमा झारेका छन्। युद्धअघि प्रतिटन करिब ९०० अमेरिकी डलरमा पाइने एचडीपीई र पीपी दाना अहिले करिब १ हजार २५० डलरसम्म पुगेको उद्योगीहरूले बताएका छन्।
यसको असर प्लास्टिकका भाँडाकुँडा, खेलौना, फर्निचर, त्रिपाल, बोरा, पाइप, पेट बोतल, प्याकेजिङ सामग्री तथा जुत्ताचप्पल उत्पादन गर्ने उद्योगहरूमा देखिन थालेको छ।
कच्चा तेलको मूल्य बढेपछि वनस्पति तेल उद्योगहरू पनि प्रभावित भएका छन्। युद्धअघि प्रतिटन करिब १ हजार २२० डलर रहेको भटमासको कच्चा तेल अहिले १ हजार २८० डलरसम्म पुगेको उद्योगीहरू बताउँछन्। यो कच्चा पदार्थ मुख्यतः अर्जेन्टिना र ब्राजिलबाट आयात गरिन्छ। त्यस्तै सूर्यमुखीको कच्चा तेलको मूल्य पनि प्रतिटन १ हजार ४०० डलरबाट बढेर १ हजार ५२० डलरसम्म पुगेको छ।
निर्यातमुखी उद्योगहरू पनि यसको प्रभावबाट अछुतो छैनन्। जुत्ताचप्पल उत्पादनमा प्रयोग हुने इथिलिन भिनाइल एसिटेट (इभा)को मूल्य प्रतिटन १ हजार १५० डलरबाट बढेर १ हजार ६०० डलरसम्म पुगेको उद्योगीहरू बताउँछन्। युद्धका कारण सिर्जिएको ऊर्जा संकट र आपूर्ति शृंखलाको अवरोधले नेपालजस्ता आयातमा निर्भर मुलुकहरूलाई गम्भीर आर्थिक दबाबमा पार्ने देखिएको छ।
उद्योगीहरूका अनुसार कच्चा पदार्थको आपूर्ति छिट्टै सहज भएन भने उद्योगहरूको उत्पादन अझै घट्नेछ। त्यसको प्रत्यक्ष असर बजारमा वस्तुको अभाव र तीव्र मूल्यवृद्धिका रूपमा देखिन सक्छ।