काठमाडौं- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटवार्ता भएको छ।
आज सोमबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा राजस्व सचिव भूपाल बराल, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष न्तोषनारायण श्रेष्ठको सहभागिता थियो।
भेटमा अर्थमन्त्री खनालले आफूलाई अर्थमन्त्रीको रूपमा रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरे।
सो अवसरमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको बताउँदै नेपालको बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरे।