काठमाडौं- पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ। बजार खुल्ने क्रममा प्रमुख तेल सूचकहरूको मूल्य १०० डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आइतबार राति २२ः४५ जीएमटीमा सीकागो मार्कनटाइन एक्सचेन्ज खुल्नेबित्तिकै अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमीडीएट कच्चा तेलको मूल्य २.५४ प्रतिशतले बढेर प्रतिब्यारेल १००.२२ डलर पुगेको छ। त्यस्तै अन्तर्राष्ट्रिय बजारको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य २.८८ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल १०६.११ डलर पुगेको छ।
इरान ले युद्ध अन्त्यका लागि वार्ताको आह्वान अस्वीकार गरेपछि ऊर्जा बजारमा अनिश्चितता थप बढेको विश्लेषकहरूले बताएका छन्। विशेषगरी संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेपछि खाडी क्षेत्रको तेल तथा ग्यास आपूर्तिमा ठूलो अवरोध देखिएको छ।
खाडी राष्ट्रहरूले उत्पादन कटौती गर्नुका साथै धेरै तेल ट्यांकरहरू खाडी क्षेत्रमै रोकिँदा आपूर्ति श्रृंखला प्रभावित भएको छ। यसको प्रत्यक्ष असर विश्व बजारमा परेको छ। युद्ध सुरु भएयता अन्तर्राष्ट्रिय तेल सूचकहरूको मूल्य करिब ४० देखि ५० प्रतिशतसम्म बढिसकेको बताइएको छ।
तेलको मूल्यमा आएको तीव्र वृद्धिले विश्व अर्थतन्त्रको वृद्धि दरमा दबाब पार्न सक्छ भने मुद्रास्फीतिमा समेत थप चाप सिर्जना हुने जोखिम बढेको छ।