शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

आठ महिनाको विकास खर्च १९ प्रतिशतमा सीमित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १ २०८२
आठ महिनाको विकास खर्च १९ प्रतिशतमा सीमित

पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकामा १९ दशमलव २४ प्रतिशत खर्च भएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा १९ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च भएको छ।

चालु आर्थिक वर्षका लागि संघीय सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएकामा फागुन मसान्तसम्ममा ९ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको ४७ दशमलव १८ प्रतिशत हो। चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकामा ५४ दशमलव ३७ प्रतिशत खर्च भएको छ।

पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकामा १९ दशमलव २४ प्रतिशत खर्च भएको छ भने वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म ५४ दशमलव ८९ प्रतिशत अर्थात् २ खर्ब ५ अर्ब ९५ करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

त्यस्तै फागुन मसान्तसम्मको सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४९ दशमलव ८९ प्रतिशतबराबर छ। चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा ७ खर्ब ६५ अर्ब १० करोड १६ लाख रुपैयाँ राजस्व उठेको हो।

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा वार्षिक लक्ष्यको ५१ दशमलव ४  प्रतिशत असुली भएको छ। त्यस्तै गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकामा हालसम्म ४५ दशमलव ७८ प्रतिशत असुली भएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँबराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म वार्षिक लक्ष्यको २४ दशमलव ७८ प्रतिशत अर्थात् १३ अर्ब २४ करोड ५० लाख रुपैयाँ अनुदान आएको पनि महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, चैत १ २०८२१३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend