बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

अनुभवी नेतृत्व खोजिरहेको पर्यटन मन्त्रालयमा बालेनले के गर्लान्?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २ २०८२
अनुभवी नेतृत्व खोजिरहेको पर्यटन मन्त्रालयमा बालेनले के गर्लान्?

यसअघि 'ठूला' भनिएका मन्त्रालयको जिम्मेवारीमा मात्रै चासो रहने र अन्यत्रका कामहरू छुट्ने परिपाटी भइरहँदा अब बन्ने सरकारले भने सबै मन्त्रालयलाई उत्तिकै महत्त्व दिनुपर्ने छ।

काठमाडौं- नयाँ सरकार गठन कसरी अघि बढ्ला भन्ने चासो बढिरहँदा मन्त्रालयगत जिम्मेवारीका विषयमा पनि अनेकन अडकल सुरु भएका छन्। प्रतिनिधि सभा चुनावमा बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने बताइरहँदा अन्य मन्त्रालयको भागबन्डा भने स्पष्ट छैन। 

चासोका साथ हेरिएका विभिन्न मन्त्रालयमध्ये एक हो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। आन्तरिक अप्ठ्याराहरू मात्रै होइनन्, विश्वव्यापी विभिन्न अस्थिरताले गर्दा नेपालको पर्यटनमा समेत असर परिरहेको छ। यस्तोमा नयाँ बजार खोज्न र पर्यटन बजारीकरणका नयाँ रणनीति बनाउने आवश्यकता अझ बढेको छ।

नेपाल प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, धार्मिक तीर्थस्थल र साहसिक पर्यटनका कारण विश्व पर्यटन नक्सामा विशेष स्थान राख्छ। पर्यटन अर्थतन्त्रको प्रमुख स्तम्भ बन्ने बाटोमा छ। लाखौँ मानिस यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित छन्।

यसैले पनि पर्यटन मन्त्रालयको नेतृत्व कसले सम्हाल्न सक्छ भन्ने विषयमा विभिन्न चर्चा भइरहेको छ। रास्वपाका नेता विराजभक्त श्रेष्ठ र पर्यटन विज्ञ डा. धनञ्जय रेग्मीको नाम अहिले छलफलमा देखिएको छ।

विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-८ बाट निर्वाचित सांसद हुन्। यसअघि २०७९ मा पनि काठमाडौं-८ बाटै सांसद रहेका उनले छोटो समय युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

त्यसअघि श्रेष्ठ विवेकशील साझा पार्टीबाट २०७४ सालमा बागमती प्रदेश सभामा पनि सांसद बनेका थिए। नेवा संस्कृति र सभ्यतासँग परिचित श्रेष्ठले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका छन्। होटल-रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा जागिरेका रूपमा काम सुरु गरेका उनी २०७२ सालको भूकम्पपछि समाजसेवामा सक्रिय थिए।

अर्कातर्फ डा. धनञ्जय रेग्मी पर्यटन क्षेत्रका विज्ञ तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। लामो समयदेखि नेपालको पर्यटन विकास, हिमाली वातावरण तथा पर्यटन नीतिमा सक्रिय छन्।

नेपाल पर्यटन बोर्डमा कार्यरत रहँदा उनले करिब सात जना पर्यटन मन्त्री र मन्त्रालयका सचिवहरूसँग प्रत्यक्ष काम गरेका थिए। यस अनुभवले उनी पर्यटन क्षेत्रमा रहेका नीतिगत अवरोध, प्रशासनिक जटिलता र कार्यान्वयनका समस्याबारे जानकार छन्।

डा. रेग्मीले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गरेका थिए। होटल व्यवसायी, ट्राभल तथा ट्रेकिङ कम्पनी, एभिएसन क्षेत्र तथा पर्यटनसँग सम्बन्धित व्यावसायिक संघसंस्थासँग उनको प्रत्यक्ष समन्वय रहेको छ। 

कोभिड महामारीका बेला नेपालमा पर्यटन लगभग ठप्प थियो। त्यस्तो कठिन परिस्थितिमा पनि रेग्मीले नेपाल पर्यटन बोर्डलाई प्रभावकारी रूपमा सञ्चालन गरेका थिए। उनले संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (संयुक्त राष्ट्र विकास कार्यक्रम) सँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरी बोर्डलाई सक्रिय राख्ने प्रयास गरेका थिए।

पाटा वार्षिक सम्मेलन, एडभेन्चर ट्राभल मार्ट, क्लाइमेट चेन्ज एण्ड माउन्टेन टुरिज्म इन्टरनेसनल कन्फरेन्स, ड्र्यागन बोट फेस्टिभल, क्रस कन्ट्री म्याराथन, 'सेलिब्रेट योर चाइनीज न्यू इयर इन नेपाल' र इन्टरनेसनल योगा डे सेलेब्रेशन जस्ता कार्यक्रम आयोजना गरेर रेग्मीले पोखरालाई पुनः अन्तर्राष्ट्रिय पर्यटन नक्सामा सक्रिय बनाउन मद्दत गरेका थिए।

कोभिड महामारीमा नेपालमा अलपत्र परेका विदेशी नागरिकको उद्धार तथा स्वदेश फर्काउने कार्यमा उनको भूमिका महत्वपूर्ण रहेको थियो। सो योगदानका लागि उनलाई बेलायतबाट गोल्ड अवार्डसमेत प्रदान गरिएको थियो। प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) ले उनलाई 'म्यान अफ द इयर'को सम्मान पनि दिएको थियो।

नेपालको पर्यटन क्षेत्र अहिले विभिन्न चुनौतीको सामना गर्दैछ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको प्रभावकारी सञ्चालन, नेपालको उड्डयन क्षेत्रलाई युरोपेली संघको कालोसूचीबाट हटाउने तथा पर्यटन विकासमा बाधक नीति र कानून सुधार्ने काम आवश्यक छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु पनि प्रमुख चुनौती बनेको छ।

यस्तोमा नेपालजस्तो पर्यटनमा ठूलो सम्भावना भएको देशमा क्षेत्रगत ज्ञान, अन्तर्राष्ट्रिय सम्पर्क, निजी क्षेत्रसँगको सहकार्य र दीर्घकालीन दृष्टिकोण भएको नेतृत्व आवश्यक देखिन्छ। यसअघि 'ठूला' भनिएका मन्त्रालयको जिम्मेवारीमा मात्रै चासो रहने र अन्यत्रका कामहरू छुट्ने परिपाटी भइरहँदा अब बन्ने सरकारले भने सबै मन्त्रालयलाई उत्तिकै महत्त्व दिनुपर्ने छ। 


प्रकाशित : सोमबार, चैत २ २०८२१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend