चितवन- नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ। सडकमा ढुंगा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्ने गरी दुईवटा फ्लड लाइट जडान गरिएको हो।
सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ। तुइन खोला क्षेत्रमा पहिरो र ढुंगा खस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिने गरी फ्लड लाइट जडान गरिएको श्रेष्ठले बताए।
लाइट जडानपछि पहिरो झरेको र ढुंगा खसेको सहजै देख्न सकिने छ। यो सडकखण्डमा ‘ओभरटेक’ नगरी संयमित भइ यात्रा गर्न चालक एवं यात्रीलाई आग्रहसमेत गरिएको श्रेष्ठले बताए।
शुक्रबार मात्र काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुंगा बजारिएको थियो। यद्यपि चालकको होसियारीले दुर्घटना टरेको थियो। तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा पटक-पटक सडक अवरुद्ध भएको थियो। रासस

