शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

यूएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानको चेतावनी

आइतबार, चैत १ २०८२
यूएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानको चेतावनी

इरानको संयुक्त सैन्य कमाण्डले भने यदि आफ्नो तेल पूर्वाधारमाथि थप आक्रमण भए क्षेत्रका अमेरिकी सम्बन्धित तेल, आर्थिक तथा ऊर्जा संरचनाहरूमाथि प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ।

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न इरानले चेतावनी दिएको छ।

अमेरिका र इसराइलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैरअमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको हो। उसले दुबईको जबेल अली बन्दरगाह, आबुधाबीको खलिफा बन्दरगाह र फुजैराह बन्दरगाह आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएट प्रेसले जनाएको छ।

तेहरानले संयुक्त अरब इमिरेट्सका बन्दरगाह तथा आश्रयस्थल प्रयोग गरेर संयुक्त राज्य अमेरिकाले इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गरेको आरोप लगाएको छ। त्यसपछि इरानले अमेरिकी सेना रहेका भनिएको क्षेत्रबाट मानिसहरूलाई तत्काल बाहिरिन आग्रह गरेको हो।

चेतावनीपछि केही समयसम्म दुबईस्थित जबेल अली बन्दरगाह वा अबुधाबीस्थित खलिफा बन्दरगाहमा कुनै आक्रमण भएको संकेत नदेखिएको बताइएको छ। तर इरानी ड्रोनलाई अवरोध गर्दा खसेको भग्नावशेषले फुजैराहस्थित तेल पूर्वाधारमा आगलागी भएको खबर सार्वजनिक भएको छ।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले एक अन्तर्वार्तामा अमेरिकाले संयुक्त अरब इमिरेट्सका रस अल खैमाह र दुबई नजिकको अर्को स्थानबाट खार्ग टापु तथा अबु मुसा टापुमा आक्रमण गरेको आरोप लगाएका छन्।

उनले इरानले आवादी भएका क्षेत्रलाई निशाना नबनाउने गरी सावधानी अपनाउने बताएका छन्। अमेरिकी सेनाको युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्डले इरानको उक्त दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।

यूएईका राष्ट्रपतिको कूटनीतिक सल्लाहकार नवर गर्गाशले सामाजिक सञ्जालमार्फत आफ्नो देशलाई आत्मरक्षाको अधिकार भए पनि विवेक र संयमलाई प्राथमिकता दिइरहेको बताएका छन्।

युद्ध सुरु भएयता इरानले खाडी क्षेत्रका देशतर्फ सयौं मिसाइल र ड्रोन प्रहार गरेको छ। यद्यपि ती प्रहार अमेरिकी सम्पत्तिलाई लक्षित रहेको इरानको दाबी छ।

केही आक्रमण नागरिक पूर्वाधार जस्तै विमानस्थल र तेल क्षेत्रनजिक पनि पुगेको रिपोर्टहरूमा उल्लेख गरिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खार्ग टापुस्थित सैन्य संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेका थिए। उनले तेहरानले हर्मुज जल मार्ग हुँदै जहाज आवतजावतमा हस्तक्षेप जारी राखे तेल पूर्वाधार पनि निशानामा पर्न सक्ने चेतावनी दिएका थिए।

इरानको संयुक्त सैन्य कमाण्डले भने यदि आफ्नो तेल पूर्वाधारमाथि थप आक्रमण भए क्षेत्रका अमेरिकी सम्बन्धित तेल, आर्थिक तथा ऊर्जा संरचनाहरूमाथि प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ।


प्रकाशित : आइतबार, चैत १ २०८२१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend