शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

अमेरिका-इजरायल-इरान द्वन्द्व : १५ दिनमा कच्चा तेलको मूल्य ४० प्रतिशत बढ्यो, विश्वभर तेल आपूर्ति प्रभावित

शनिबार, फागुन ३० २०८२
अमेरिका-इजरायल-इरान द्वन्द्व : १५ दिनमा कच्चा तेलको मूल्य ४० प्रतिशत बढ्यो, विश्वभर तेल आपूर्ति प्रभावित

ढुवानी र उत्पादन लागत बढ्दा दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्नेछ। भारत र नेपालजस्ता तेल आयातमा निर्भर देशहरूको व्यापार घाटा उल्लेख्य बढ्ने र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने देखिन्छ।

काठमाडौं- पश्चिम एसियामा बढ्दो भू-राजनीतिक तनावका कारण विश्वव्यापी ऊर्जा बजारमा ठूलो हलचल पैदा भएको छ। विश्वभर तेलको मूल्य वृद्धि हुनुका साथै आपूर्तिमा समेत अवरोध बढ्दै गइरहेको छ। 

अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व सुरु भएको १५ दिनमै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। इरानले इजरायलमाथि गरेको मिसाइल आक्रमण र त्यसको जवाफमा इजरायलले इरानका तेलखानी तथा रणनीतिक संरचनाहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएपछि तेलको मूल्यमा यो वृद्धि देखिएको हो। 

अमेरिकाले इजरायलको सुरक्षाका लागि सक्रिय समर्थन जनाएसँगै यो विवादले क्षेत्रीय युद्धको रूप लिन सक्ने डर लगानीकर्ताहरूमा फैलिएको छ। कच्चा तेलको मूल्य बढ्नुमा मुख्यगरी तीन कारण छन्। पहिलो आपूर्ति मार्गमा जोखिम। विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा ओगट्ने 'स्ट्रेट अफ हर्मुज' बन्द हुन सक्ने खतरा बढेको छ। इरानले यो मार्गमा अवरोध सिर्जना गरेमा विश्वभर तेलको हाहाकार हुन सक्छ।

दोस्रो हो रणनीतिक भण्डारमा दबाब। मूल्य बढेसँगै धेरै देशहरूले आफ्नो रणनीतिक तेल भण्डार सुरक्षित राख्न खोज्दा माग र आपूर्तिबीचको सन्तुलन बिग्रेको छ। तेस्रो हो अमेरिकी संलग्नता। अमेरिकाले इरानमाथि थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरेपछि इरानी तेल बजारबाट बाहिरिने डरले मूल्यलाई थप बल पुर्‍याएको छ।

आर्थिक प्रभाव

तेलको मूल्यमा भएको यो तीव्र वृद्धिले विश्वव्यापी अर्थतन्त्रमा असरहरू पार्ने प्रक्षेपण गरिएको छ। ढुवानी र उत्पादन लागत बढ्दा दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्नेछ। भारत र नेपालजस्ता तेल आयातमा निर्भर देशहरूको व्यापार घाटा उल्लेख्य बढ्ने र विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने देखिन्छ।

त्यस्तै सेयर बजारमा पनि तेलको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव देखिने छ। ऊर्जाको मूल्य बढ्दा उत्पादनमूलक क्षेत्रको मुनाफा घट्ने डरले विश्वभरका सेयर बजारहरूमा गिरावट देखिएको छ।

बजार विश्लेषकहरूका अनुसार यदि इजरायल र इरानबीचको युद्ध तत्काल नरोकिएमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलर पुग्ने सक्नेछ। अहिलेको अवस्थालाई 'युद्धकालीन प्रिमियम'का रूपमा हेरिएको छ। युद्ध लम्बिँदै गए यसले विश्वभरको आर्थतन्त्रमाथि दबाब बढाउँदै लानेछ। 


प्रकाशित : शनिबार, फागुन ३० २०८२१३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend