शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

जनअपेक्षाअनुसार परिणामका लागि कानूनी र संरचनागत क्षेत्रमा सुधार जरुरी : सुशील ज्ञवाली

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २९ २०८२
जनअपेक्षाअनुसार परिणामका लागि कानूनी र संरचनागत क्षेत्रमा सुधार जरुरी : सुशील ज्ञवाली

परियोजनाको विकासमा प्रतिष्पर्धा सुनिश्चित हुने गरी प्राविधिक, वित्तीय क्षमता तथा समयमै परियोजना सम्पन्न हुने आधारको अध्ययन गरी प्रतिवेदन तयार पार्न पनि विशेषज्ञ सेवा लिन सकिनेछ।

काठमाडौं- लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जनअपेक्षाअनुसार परिणाम निकाल्न कानूनी र संरचनागत क्षेत्रमा व्यापक सुधार जरुरी रहेको बताएका छन्।

विशेषज्ञ सेवासम्बन्धी मस्यौदा ‍कार्यविधिबारे छलफल गर्न आयोजित कार्यक्रममा अपेक्षा र परिणामबीच धेरै अन्तर रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रभावकारी नतिजाका लागि सोचाइ र कार्यशैलीमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिए।

कार्यविधिमा सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने परियोजनाको प्राथमिकता निर्धारणसम्बन्धी अध्ययन विश्लेषण गर्न, आवश्यकता अनुसार निजी क्षेत्रबाट निर्माण हुने परियोजनाहरुको अध्ययन विश्लेषण गर्न, लगानी बोर्डबाट प्रस्ताव माग भएका वा आह्वान गरि छनौट गरिएका परियोजनाको आशयपत्र तथा प्रस्तावको अध्ययन गरी कागजात तयार गर्न विशेषज्ञ सेवा लिन सकिने उल्लेख छ।

यस्तै लगानी बोर्डबाट प्रस्ताव माग भएका वा आह्वान गरिएका कुनै परियोजनाको सम्बन्धमा पेश भएका आशयपत्र एवं प्रस्तावको अध्ययन तथा विश्लेषण गरी मूल्यांकन प्रतिवेदन तयार गर्न, परियोजनाको विकासमा प्रतिष्पर्धा सुनिश्चित हुने गरी प्राविधिक, वित्तीय क्षमता तथा समयमै परियोजना सम्पन्न हुने आधारको अध्ययन गरी प्रतिवेदन तयार पार्न पनि विशेषज्ञ सेवा लिन सकिनेछ।

लगानी बोर्डमा सोझै प्राप्त हुन आएका प्रस्तावको अध्ययन एवं विश्लेषण गरी मूल्यांकन प्रतिवेदन तयारी सम्झौतामा भएको व्यवस्था अनुसार परियोजना निर्माण वा कार्यान्वयन भए नभएको सुपरीवेक्षण तथा अनुगमन गरी सुझावसहितको प्रतिवेदन तयारी, परियोजना कार्यान्वयनमा देखा परेका समस्याको अध्ययन विश्लेषण गरी समाधानको उपाय पहिचान गरी कार्यान्वयन गर्ने लगायतका क्षेत्रमा विशेषज्ञ सेवा लिन सकिने विशेषज्ञ सेवासम्बन्धी मस्यौदा कार्यविधिमा उल्लेख गरिएको छ।

लगानी बोर्डबाट सञ्चालन गरिने परियोजनाहरु मेगा खालका हुनुका साथै नयाँ प्रविधि र नव प्रवर्तनमा समेत आधारित हुने भएकाले विशिष्ट प्रकारका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विशेषज्ञ आवश्यक पर्ने भएर सार्वजनिक एवं निजी साझेदारी तथा लगानी ऐनमा यस प्रकारको विशेषज्ञ सेवा लिन सक्ने व्यवस्था कार्यान्वयनका लागि बोर्डले उक्त कार्यविधि तर्जुमा गर्न लागेको हो।


प्रकाशित : शुक्रबार, फागुन २९ २०८२१७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend