शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

विस्थापित गर्ला विद्युतीय चुलोले एलपी ग्यास?

ग्यासको तुलनामा इन्डक्सन चुलो प्रयोग गर्दा कति हुन्छ बचत?

शुक्रबार, फागुन २९ २०८२
विस्थापित गर्ला विद्युतीय चुलोले एलपी ग्यास?

एक अध्ययनले सहरी क्षेत्रमा तत्काल नै ८० प्रतिशतसम्म ग्यासको प्रयोग घटाउन सक्ने देखाएको छ। ग्यासको विकल्पमा मुख्यतः तीन प्रकारका विद्युतीय उपकरण प्रयोग गर्न सकिने देखिन्छ।

काठमाडौं- इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसियामा बढेको द्वन्द्वको असर नेपालमा पनि देखिन थालेको छ। विशेष गरेर पेट्रोलिम पदार्थमा त्यसको प्रभाव परेको छ। खाना पकाउने एलपी ग्यासको अभाव देखिँदा उपभोक्ताहरू मारमा परेका छन्।

भारतबाट हुने ग्यास आयात कमी आएसँगै नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण गर्न थालेको छ। बजारमा ग्यास अभाव अझै बढ्ने संकेत देखिएको छ। 

ग्यासको अभाव बढ्दै जाँदा आम उपभोक्ताले विद्युतीय चुलोको प्रयोग विकल्पका रुपमा लिने गरेका छन्। यही समयमा खाना पकाउने एलपी ग्यासलाई विद्युतीय चुलोले विस्थापित गर्न सक्ला त भने प्रश्न उठेको छ। भान्छाबाट ग्यास विस्थापित गरी इन्डक्सन वा इन्फ्रारेड चुलो प्रयोग गर्न सहज छ त?

एक गैरसरकारी संस्थाको अध्ययनले सहरी क्षेत्रमा तत्काल नै ८० प्रतिशतसम्म ग्यासको प्रयोग घटाउन सक्ने देखाएको छ। ग्यासको विकल्पमा मुख्यतः तीन प्रकारका विद्युतीय उपकरण प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ।

ग्यासको विकल्पमा मुख्यत: भान्छामा इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसक कुकर उपयुक्त हुने अध्ययनले देखाएको छ। यसका लागि सबैभन्दा पहिले घरमा जोडिएको बिजुलीको क्षमता र वायरिङको विषय महत्वपूर्ण हुन्छ।

ग्यासको तुलनाका कुन उपकरण प्रयोगको लागत कति?

ग्यासको तुलनामा इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसक कुकर तीनवटै विद्युतीय उपकरण प्रयोग गर्दा निकै कम लागत लाग्छ। जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)ले गरेको अध्ययनअनुसार खाना पकाउँदा सबैभन्दा कम लागत इलेक्ट्रिक प्रेसर कुकरमा पर्छ। त्यसपछि इन्डक्सन र इन्फ्रारेड आउँछन्।

पाँच जनाको परिवारलाई भात, दाल र मासु पकाउँदा कुनमा कति लागत पर्छ हेरौँ :

ग्यास प्रतिसिलिण्डर १ हजार ९ सय १० सय रुपैयाँ र बिजुली प्रतियुनिट १० रुपैयाँलाई लिएर लागत हिसाब गर्दा पाँच जनाको परिवारलाई एक छाक भात, मासु र दाल बनाउन १९ रुपैयाँ ग्यास खर्च हुन्छ।

इन्डक्सन चुलो प्रयोग गर्दा ११ रुपैयाँ ७७ पैसामात्रै पर्ने अध्ययनले देखाएको छ। सोही खाना इन्फ्रारेड चुलोबाट पकाउँदा १२ रुपैयाँ ६० पैसा र इलेक्ट्रिक प्रेसर कुकरबाट बनाउँदा ६ रुपैयाँ २७ पैसा खर्च हुने छ।

बिजुलीको मिटरको क्षमता बढाउनुपर्छ कि!

इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसर कुकर प्रयोग गर्न न्यूनतम १५ एम्पियरको विद्युत् क्षमताको मिटर जडान गरेको हुनुपर्छ। सहरी क्षेत्रका घरमा १५ एम्पिएरको बिजुली प्रयोग गरिने भए पनि ग्रामीण क्षेत्रमा अहिले पनि ५ एम्पियर क्षमताको बिजुली जडान गर्ने गरिन्छ। त्यसो हुँदा गाउँहरुमा तत्काल विद्युतीय चुलो प्रयोगमा ल्याउन कठीन छ।

प्राधिकरणले मिटरको क्षमता निःशुल्क रुपमा बढाउन पाउने सुविधा दिएको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी छैन।

नेपालको बिजुली वितरण प्रणालीमा नै समस्या छ। अधिकांश ग्रामीण क्षेत्रमा मात्रै होइन सहरमा पनि वितरण प्रणालीले ठूलो मात्रामा विद्युत उपभोग धान्दैन। अहिले पनि हावाहुरी चल्दा तथा भारी वर्षा हुँदा बिजुली जाने समस्या समाधान हुन सकेको छैन।

विद्युतीय चुलोका लागि महँगा भाँडा

इन्डक्सन चुलोका लागि विशेष प्रकारका भाँडा आवश्यक पर्छ, जुन केही महँगो हुन्छ। मध्यम वर्ग र उच्च वर्गका परिवारले चुलो तथा भाँडा खरिद गर्न सक्ने भए पनि गरिबीको रेखामुनी रहेका र निम्नवर्गका परिवारलाई एकै पटकमा ती भाँडा खरिद गर्न सरकारले सहुलियत दिनुपर्ने छ।

सहरी क्षेत्रमा घर भाडामा बस्नेका लागि घरबेटीले लिने बिजुलीको शुल्क प्रतियुनिट १५ रुपैयाँसम्म छ। यो रेटमा विद्युतीय चुलो प्रयोग गर्दा ग्यासको तुलनामा सस्तो नपर्ने पनि अध्ययनले देखाएको छ।

विद्युतीय चुलोको उपलब्धता र मूल्य

भान्छामा ग्यासको विकल्पमा इन्डक्सन चुलो, इन्फ्रारेड चुलो, राइसकुकर, इलेक्ट्रिक प्रेसर कुकुर, विद्युतीय ओभन, माइक्रो ओभन, तातो प्लेट, स्लो कुकरलगायत दर्जनभन्दा बढी विद्युतीय उपकरण प्रयोग गर्न सकिन्छ।

भान्छामा ग्यासको विकल्पमा मुख्यत: तीन वटा चुलो प्रयोगलाई प्रमुख रुपमा हेरिएको छः इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसर कुकर। भान्छामा राइसकुकरको प्रयोग भने पहिलेदेखि नै भएको छ। 

अहिले बजारमा २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका इन्डक्सन चुलो पाइन्छन्। सरकारी व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समेत ४ हजार रुपैयाँमा नै १९०० वाटको इन्डक्सन चुलो बिक्री गरेको छ। २०७२ मा भारतीय नाकबन्दीपछि ग्यासको अभाव भएको बेलामा पनि कम्पनीले इन्डक्सन चुलो बिक्री गरेको थियो। 

बजारमा ३ हजार ५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्मका इन्फ्रारेड चुलो पाइन्छन्। इलेक्ट्रिक प्रेसर कुकर भने अलि महँगो छ। बजारमा सामान्यत: ६ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्ममा नै इलेक्ट्रिक प्रेसर कुकर पाइन्छन्।

कुन चुलोले कसरी काम गर्छ?

इन्डक्सन चुलो

परम्परागत रुपमा प्रयोग भइरहेका चुलो र इन्डक्सन चुलोमा खाना पाक्ने प्रक्रिया एउटै देखिए पनि अन्य प्रविधि र इन्डक्सन चुलोमा बसालिने भाडाले ताप प्राप्त गर्ने प्रक्रिया आधारभुत रुपमा फरक हुन्छ।

ग्यास, विद्युतीय हिटरजस्ता चुलोले सिधै आगोको तापले भाडा तताएर खाना पकाउँदछन्। तर इन्डक्सन चुलोमा चुम्बकीय आकर्षणको माध्यमबाट भाडा तात्ने गर्दछ। चुम्बकीय आकर्षणबाट भाँडा तात्ने भएको हुनाले यो किसिमको चुलोमा खाना पकाउँदा विशेष किसिमको भाँडाहरु चाहिन्छ। 

इन्फ्रारेड चुलो

इन्फ्रारेड चुलोले भाँडा तताउने प्रक्रिया परम्परागत चुलोजस्तै हो। परम्परागत चुलोमा आगोको तापले भाँडा तातेजस्तै इन्फ्रारेड चुलोमा विद्युत आपुर्ति भएपछि यसमा रहेका क्वोइल तातेर यसमा बसालिएको भाडामा तापको प्रसारण हुन्छ।

इन्डक्सन चुलोमा खाना पकाउनका लागि चुम्बकीय शक्ति ग्रहण गर्न सक्ने विशेष भाँडा चाहिन्छ भने इन्फ्रारेडमा समथल पिँध भएका जुनसुकै भाँडामा खाना पकाउन सकिन्छ।

इलेक्ट्रिक प्रेसर कुकर

यो कुकर सबै प्रकारको पकवान बनाउन मिल्ने विद्युतीय उपकरण हो। यसलाई मल्टिकुकर पनि भनिन्छ। यसमा खाना पकाउन, उमाल्न, तार्ने, बफाउन र सुक्खा खाने कुरा बनाउन मिल्छ। 


प्रकाशित : शुक्रबार, फागुन २९ २०८२१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend