शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने बाटो खुल्यो, उत्पादित इथानोल निगमलाई मात्र बिक्री गर्नुपर्ने

शुक्रबार, फागुन २९ २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने बाटो खुल्यो, उत्पादित इथानोल निगमलाई मात्र बिक्री गर्नुपर्ने

इथानोलको गुणस्तर भने नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेअनुसार हुनेछ। उत्पादन प्रक्रिया वातावरणमैत्री हुनुपर्ने व्यवस्था छ।

काठमाडौं- सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन पाउने गरी आदेश जारी गरेको छ।

राजपत्रमा प्रकाशित विवरणअनुसार स्वदेशी कच्चा पदार्थमा आधारित भइ इथानोल उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने र पेट्रोलको आयात न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ।

पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश, २०८२ ले खाद्यान्नका रूपमा प्रत्यक्ष प्रयोग हुने अन्नलाई इथानोल उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। उद्योगले उत्पादन गरेको इथानोल निगमलाई मात्र बिक्री गर्नुपर्नेछ र निगमबाहेक अन्यत्र बिक्रीवितरण गर्न नपाइने प्रावधान राखिएको छ।

इथानोल पेट्रोलमा मिश्रणका लागि मात्रै प्रयोग गर्न पाइनेछ। आर्थिक वर्ष सुरु हुनुअगावै इथानोलको खरिद मूल्य निर्धारण हुने विषयसमेत आदेशमा समावेश छ।

इथानोलको गुणस्तर भने नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेअनुसार हुनेछ। उत्पादन प्रक्रिया वातावरणमैत्री हुनुपर्ने व्यवस्था छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजक रहने समितिको सिफारिसमा मन्त्रिपरिषद्ले मूल्य निर्धारण गर्नेछ र निर्धारण गरिएको मूल्य २०८३ साउन १ गतेदेखि लागु हुने जनाइएको छ। मूल्य निर्धारण गर्दा प्राथमिक लागत, कारखाना तथा प्रशासनिक ओभरहेड र अन्य आवश्यक लागतलाई आधार मानिनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको पेट्रोल आयात घटाउन सकिने अनुमान सार्वजनिक गरिसकेको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार यसबाट वैदेशिक मुद्रा बचत हुनुका साथै स्वदेशी कृषि उत्पादन र औद्योगिक गतिविधिमा समेत विस्तार हुने अपेक्षा गरिएको छ।

अमेरिकामा बसोवास गर्ने गैरआवासीय नेपालीहरूको पहलमा स्थापना भएको कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले इथानोल उत्पादनमा करिब १२ अर्ब रुपैयाँसम्म लगानी गर्ने प्रस्तावसमेत गरिसकेको छ। 


प्रकाशित : शुक्रबार, फागुन २९ २०८२११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend