काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगमा पेश गरिएको विवरण अनुसार वाग्लेले चुनावी अभियानका क्रममा २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०४४ को दफा ७२ तथा आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता बमोजिम उनले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय तनहुँमा बुझाएका हुन्।
उपलब्ध विवरण अनुसार प्रचार–प्रसार सामग्री खरिद तथा वितरणमा सबैभन्दा बढी ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको छ। त्यसैगरी विद्युतीय प्रचारप्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
कार्यालय सञ्चालन खर्चतर्फ ४२ वटा कार्यालय व्यवस्थापनका लागि ४ लाख २० हजार रुपैयाँ खर्च भएको छ भने ८९ मतदान केन्द्रमा प्रतिनिधि परिचालनका लागि ३ लाख १९ हजार ३०० रुपैयाँ खर्च भएको देखाइएको छ।
यस्तै सवारी साधन तथा इन्धनमा ४ लाख ५० हजार रुपैयाँ, खाना-खाजा तथा अस्थायी बसोबासमा १ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। विविध शीर्षकअन्तर्गत करिब १ लाख ४० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
त्यसैगरी मनोनयन दर्ता गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ बुझाइएको पनि विवरणमा समावेश गरिएको छ।

