काठमाडौं- हिजो परेको वर्षा र हावाहुरीपछि काठमाडौं उपत्यकाको वायु प्रदूषण अघिल्ला दिनको तुलनामा केही घटेको देखिएको छ। केही दिनदेखि अत्यधिक प्रदूषणको चपेटामा परेको उपत्यकाको हावाको गुणस्तर आज बिहान भने सुधारिएको हो।
स्विट्जरल्याण्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था एक्यूआईका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक ८६ मापन गरिएको छ। बिहानको केही समयअघि भने सूचकाङ्क ३४ सम्म झरेको थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो स्तर मानिन्छ।
यसअघि फागुन २६ गते काठमाडौंको वायु गुणस्तर सूचकांक २०६ पुगेको थियो। हिजो पनि प्रदूषणको स्तर १५० भन्दा माथि पुगेको थियो, जसलाई वायु गुणस्तरका हिसाबले अस्वस्थ स्तर मानिन्छ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार वायु गुणस्तर सूचकाङ्क ५० सम्म भए राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ र २०१ देखि ३०० सम्म निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि पुगेमा अवस्था खतरनाक तहमा पुगेको संकेत गर्दछ।
हिजो काठमाडौं उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। वर्षासँगै चलेको हावाहुरीले आकाशमा जमेको धुलोका कण केही हदसम्म पखालिएकाले प्रदूषणको स्तर घटेको हो। हावाको प्रवाह बढ्दा प्रदूषणका कणहरू अन्यत्र सर्ने भएकाले पनि हावाको गुणस्तरमा सुधार देखिएको हो।
यद्यपि दिउँसोतिर भने काठमाडौं उपत्यकामा वायु गुणस्तर केही खस्किन सक्ने अनुमान एक्यूआईले गरेको छ। मौसममा फेरबदल नआएमा सहरमा धुलो र सवारी साधनबाट निस्कने धुवाँका कारण प्रदूषण फेरि बढ्न सक्ने सम्भावना रहेको बताइएको छ।

