काठमाडौं- नेपाल आयल निगमले ग्यासको अस्वाभाविक माग बढेपछि एलपी ग्यास आधा परिमाणमा आधा मूल्यमा बिक्री गर्ने निर्णय गरेको छ।
निगमले बिहीबार एक सूचना जारी गर्दै मिति २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि एलपी ग्यास सिलिण्डरमा ७.१ किलोग्राम मात्र ग्यास भरेर प्रति सिलिण्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरिएको जनाएको हो।
निगमका अनुसार नियमित रूपमा मागअनुसार एलपी ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग अस्वाभाविक रूपमा बढेको छ। यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको विश्वव्यापी आपूर्तिमा दबाब परेको निगमले जनाएको छ।
नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारण उपभोक्ताले ग्यास पाउन कठिनाइ भइरहेको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ।
यस्तो अवस्थामा आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध गराउने उद्देश्यले अस्थायी रूपमा आधा परिमाणमा ग्यास बिक्री गर्ने निर्णय गरिएको निगमले स्पष्ट पारेको छ।
निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गर्दै आपूर्ति व्यवस्थापनमा सहयोग गर्न अपिल गरेको छ।

