पर्सा- नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको बताएका छन्।
पर्सामा आयोजित एक कार्यक्रममा उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए। ‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ।’
‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ,’ उनले भने, ‘कालोसूचीमा राख्नुपर्ने कति हुन। कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छौँ।'
गर्भनर पौडेलले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार/व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने पनि बताए। ‘व्यवसाय भनेको कलेज पढाएर मात्रै पुग्ने रैन्छ। त्यो व्यापार हुनका लागि विभिन्न खालका हन्डर र ठक्कर खाएपछि मात्रै व्यवस्थित ढंगले अघि बढ्ने हुँदा पनि त्यसलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी छ,’ उनले भने,‘व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुनेतर्फ पनि ध्यान दिन जरुरी छ। त्यसैले व्यवसायीलाई प्रवद्र्धन गरेर अघि बढाउन जरुरी छ।’ गर्भनर पौडेलले व्यवसाय गर्न खोज्नेले एक पटक गल्ती गर्दैमा दुःख दिन नहुने बताए।
फरक प्रसंगमा गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अंगिकार गर्दै आइरहेको बताए। उनले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि सूचना प्रविधि क्षेत्रलाई प्रथामिकतामा राख्दै आइरहेको बताए।
‘भविष्यमा पनि सूचना प्रविधि उद्योगहरु धेरै वृद्धि हुन्छ भन्ने अपेक्षा राखेका छौँ,’ उनले भने,‘हामीले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्नका लागि अनुरोध गर्दै आइरहेका छौँ।’
‘अहिले धेरैजसो व्यवसाय डिजिटल प्लेटफर्ममा अघि बढिरहेका छन्। त्यसैले अब उद्यमी तथा व्यवसायले नयाँतर्फ पनि आफूलाई परिवर्तन गर्दै लैजान जरुरी भइसकेको छ,’ उनले भने,‘समयानुकूल आफ्नो व्यवसायको डिजिटल रणनीति तयार पारेर अघि बढ्नुपर्ने बेला भइसकेको छ। पक्कै पनि यहाँहरुले सोतर्फ ध्यान दिइरहनुभएकै होला।’
नेपालका आईटी कम्पनीलाई विदेशी मुलुकमा लगानी गर्नका लागि पनि सहज वातावरण बनाउँदै आइरहेको उनले बताए।

