शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुंगा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ।

रुपन्देही- रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका-३ मा पर्ने भभइ-भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन्। दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुंगा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको यस वारि भटौलिया र पारी भभइ पर्छ। अहिले दुबे थुम्हवाका एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन्।

'उहाँले धेरै दुखजिलो गरेर पुल बनाउनुहुन्छ। यसले उहाँको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउँजाउ गर्न सजिलो भएको छ,' उनले भने, 'तर यहाँ पक्की पुल नहुँदा जहिले पनि जोखिम हुन्छ। पुल टुटने डरले मानिस घाइते हुन सक्छन्, सवारी साधनको पनि क्षति हुन सक्छ।'

उनका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण मार्ग हो। मर्चवारबाट सिधै कक्रहवा, लुम्बिनी हुँदै नेपाल-भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीय बताउँछन्।

भभइकै अर्का स्थानीय धर्मेन्द्र लोधले पुल नहुँदा वर्षायाममा समस्या झन् बढ्ने बताउँछन्। अहिले नदीमाथि बाँसको अस्थायी पुल बनाइए पनि वर्षा सुरु भएपछि त्यो पनि प्रयोग गर्न नसकिने अवस्था हुने गरेको उनको भनाइ छ।

'अहिले त अलिअलि सुविधा छ, तर वर्षा लागेपछि हामी पानीमा हेलिएर हिँड्नुपर्छ,' उनले भने, 'यदि यहाँ पक्की पुल भइदिएको भए वर्षातमा पनि सहज रूपमा आवतजावत गर्न सकिन्थ्यो। पुल नहुँदा कहिले अजमा, दुईमुहान त कहिले बर्डर हुँदै घुमेर जानुपर्छ।'

स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ।

'यस पारिका मानिसहरूको खेत उता छ भने उता बस्नेको खेत यता छ,' उनले भने, 'बाढी आउँदा त कोही पनि आउनजान सक्दैनन्। त्यसैले यहाँ पक्की पुल अत्यन्त आवश्यक छ।'

स्थानीयको सहयोगमा नदीमाथि बाँसको अस्थायी पुल बनाउने काम एक मल्लाह परिवारले गर्दै आएको छ। पुल निर्माणका लागि उनीहरूले झण्डै एक महिनाअघि नै बाँस काटेर जम्मा गर्ने र करिब १५ दिन लगाएर पुल तयार गर्ने गर्छन्।

तयार भएको पुल कुर्न बासमती मल्लाह दिनभरि घाटमै बस्छन्। परिवारका तीन जनाले मिलेर पुल बनाएका बासमतीले दिनको कहिले १००, कहिले १५० त कहिले २०० रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन्। बाटो हिँड्नेले गच्छेअनुसार ५, १० वा २० रुपैयाँसम्म 'मल्लाही' तिर्छन।

'यही घाटको आम्दानीबाट नून-तेल र घरखर्च चल्छ,' बासमतीले भने, 'हामीसँग आफ्नै खेतीपाती छैन। यही घाट हाम्रो मुख्य आम्दानीको स्रोत हो।'

उनले स्थानीयहरूले नगदमै केही रकम दिए पनि स्थानीयको हकमा भने धान, चामल, गहुँ लगायतको जिन्सी (जिउका) लिने गरेको बताए। जिउका बापत चार देखि १० पाथीसम्म प्रति घर अन्न पाउने गरेको उनको भनाइ छ।

वरपरका १०-१२ गाउँका करिब एक हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले यहाँ पक्की पुल निर्माण गर्न स्थानीयले वर्षौँदेखि सरकारसँग माग गर्दै आएका छन्। स्थानीयवासीका अनुसार बाँसको पुलले अहिलेसम्म यात्रालाई सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि अब पक्की पुल निर्माण अपरिहार्य भएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend