काठमाडौं- नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दायर गरिएको रिट निवेदन उच्च अदालतले खारेज गरिदिएको छ। बुधबारको पेसीमा उच्च अदालत पाटनले नाडा निर्वाचनको विवादमा परेको रिट खारेज गरेको हो।
अदालतमा बिचाराधिन अवस्थामा संस्थाले न्यायालयप्रतिको उच्च सम्मान तथा विधिको शासनप्रतिको संस्थाको
प्रतिबद्धतालाई मध्यनजर गर्दै नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम अस्थायी रूपमा नाडाले स्थगित गर्ने निर्णय गरेको थियो।
बुधबार पाटन उच्च अदालत पाटनबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको नाडाले जनाएको छ। योसँगै नाडाको नवनिर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको छ।
यसै सन्दर्भमा नाडाको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिने जनाएको छ।
नाडाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको तथा संस्थालाई आगामी दिनमा थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।
साथै नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

