काठमाडौंं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्ना मजदूर तथा कर्मचारीलाई पारिश्रमिक र बोनसमा झण्डै एक अर्ब रुपैयाँ खर्च गरेको छ। कम्पनीमा कार्यरत ४ हजार कर्मचारीको लागि उक्त रकम भुक्तानी भएको कम्पनीको वार्षिक वित्तीय विवरणमा उल्लेख छ।
रिलायन्सले औद्योगिक क्षेत्रमा कार्यरत मजदूरको पारिश्रमिकमा ७७ करोड ५२ लाख ३७ हजार २९२ रुपैयाँ र प्रशासनिकतर्फको पारिश्रमिकमा ११ करोड ६० लाख ३३ लाख १ सय ९८ रुपैयाँ खर्च गरेको छ। त्यसैगरी उक्त आर्थिक वर्षमा सम्पूर्ण मजदूर तथा कर्मचारीलाई ६ करोड २ लाख ४७ हजार ९६३ रुपैयाँ बोनस वितरण गरिएको छ। कार्यरत सबै मजदूर तथा कर्मचारीलाई ६९ दिन बराबरको बोनस वितरण गरिएको हो। वित्तीय विववरणअनुसार मजदूर तथा कर्मचारीको लागि ९५ करोड १५ लाख १८ हजार ४५३ रुपैयाँ खर्च भएको छ।
कम्पनीले खुद नाफामा बढोत्तरी भएसँगै कर्मचारीलाई दिने बोनस पनि करिब ५ सय प्रतिशतले बढाएको हो। वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ करोड १ लाख ८ हजार ३१६ रुपैयाँ बोनस वितरण गरिएको थियो।
रिलायन्स उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा स्थापित छ। कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन्। उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ। उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेवर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ।
रिलायन्सले गत आर्थिक वर्षमा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७ सय ९३ रुपैयाँ रहेको थियो। दुई आर्थिक वर्षको तुलना गर्दा कम्पनीको खुद नाफामा ८ सय ४५ प्रतिशतले वृद्धि भएको देखिन्छ। कम्पनीको कूल नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ४२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आर्षिक वर्ष २०८१/८२ मा कुल नाफा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ रहेको थियो।
एक महिनाअघि मात्र आईपीओ निष्काशन प्रक्रिया सम्पन्न गरी धितोपत्र बजारमा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्स पछिल्लो समय निरन्तर नाफामा गइरहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ। माघ अन्तिम साता सार्बजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ। प्रतिशेयर नेटवर्थ पनि बढेर ४९० रुपैयाँ ५४ पैसा पुगेको छ।
२०५४ सालमा स्थापित रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रतिष्ठत व्यापारिक घराना गोल्याण समूहको अभिन्न अंगको रुपमा रहेको छ। उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ। उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन्।
रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन्। यस उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ। ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ। सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन्।

