काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनलले गत बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष मदनकृष्ण शर्माद्वारा आज जारी विज्ञप्तिमा निर्वाचनको परिणामले जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व प्रदर्शन गरेको बताए।
युवा पुस्ताको भावना र संलग्नता अँगालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त अत्यधिक जनमतलगायत सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिलाई सस्थाले बधाई ज्ञापन गरेको छ।
कानूनी राज्यको उपहास गर्दै चरम भ्रष्टाचारले देशको अवस्था सोच्नै नसक्ने गरी कमजोर र शिथिल बनाउन जिम्मेवार राजनीतिक दल र प्रतिनिधिलाई पाखा लगाउन सफल यस निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको ट्रान्सपरेन्सी इन्टरनेशनलले बताएको छ।
निर्वाचनमार्फत नेपाली नागरिकले गरेको विश्वासलाई अव गठन हुने प्रतिनिधीसभा र संघीय सरकारले पूर्णसम्मान गरोस् भन्ने जनचाहना रहेको बताइएको छ।
निर्वाचनमा मत माग्दा जनता सामु गरेका बाचाप्रति पूर्णप्रतिवद्व रही कुनै पनि बहानामा विलम्ब हुँन नदिई आम नागरिकले सुशासनको स्पष्ट अनुभूति गर्ने गरि सरकारले काम गर्ने विश्वास ट्रान्सपरेन्सी इन्टरनेशनलले लिएको छ।
नवनिर्वाचित जनप्रतिनिधि र राजनितिक दलले मुलुकलाई लोकतन्त्रको आवरणमा हुने लुटतन्त्रबाट मुक्त गरि राजनीतिमा इमान्दारीता स्थापित गर्दै जनादेशबाट प्राप्त सत्ता र शक्ति निजी वा दलीय स्वार्थका लागि नभई पूर्ण रूपमा जनहितमा प्रयोग हुने परिपाटी स्थापित गर्ने विश्वास लिइएको छ। रासस

