शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

विश्व बैंकद्वारा नेपालको 'स्वच्छ वायु र समृद्धि परियोजना'का लागि ५ करोड २० लाख डलर सहुलियतपूर्ण ऋण स्वीकृत

बुधबार, फागुन २७ २०८२
विश्व बैंकद्वारा नेपालको 'स्वच्छ वायु र समृद्धि परियोजना'का लागि ५ करोड २० लाख डलर सहुलियतपूर्ण ऋण स्वीकृत

नेपालमा औद्योगिकीकरण बढ्दै जाँदा आगामी वर्षहरूमा औद्योगिक उत्सर्जन वायु प्रदूषणको प्रमुख स्रोत बन्ने प्रक्षेपण गरिएको छ, जसले गर्दा स्वच्छ उत्पादन प्रविधिको आवश्यकता झन् बढेको छ।

काठमाडौं- विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा वायु प्रदूषण न्यूनीकरण र वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ पार्न 'नेपाल स्वच्छ वायु र समृद्धि परियोजना'मा आर्थिक सहयोग गर्ने भएको छ। विश्व बैंकले सो परियोजनाका लागि ५ करोड २० लाख अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो।

यस परियोजनाले विशेष गरी औद्योगिक तथा व्यावसायिक बोयलर र फर्नेसहरूबाट हुने घातक सूक्ष्म कणको उत्सर्जन घटाउन सहयोग गर्नेछ। परियोजना मुख्यतया काठमाडौं उपत्यका, तराई र आसपासका पहाडी क्षेत्रहरूमा केन्द्रित हुनेछ, जहाँ वायु प्रदूषणले गम्भीर स्वास्थ्य जोखिम निम्त्याइरहेको छ।

'वायु प्रदूषण नेपालमा जनस्वास्थ्यको संकट मात्र नभइ एक ठुलो आर्थिक बोझ पनि हो। स्वास्थ्य उपचार खर्च र श्रम उत्पादकत्वमा हुने ह्रासका कारण यसले नेपालको कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा बढी नोक्सानी पुऱ्याइरहेको छ,' माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिसलेनले भने।

यस परियोजनाले नेपाली उद्योगहरूलाई सफा र दक्ष प्रविधि अपनाउन सहयोग गरी लाखौँ मानिसको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ। यसबाट सञ्चालन लागत घट्ने, प्रतिस्पर्धात्मक क्षमता बढ्ने र दिगो औद्योगिक विकासमा सहयोग पुग्ने विश्वास उनको छ। 

नेपालमा औद्योगिकीकरण बढ्दै जाँदा आगामी वर्षहरूमा औद्योगिक उत्सर्जन वायु प्रदूषणको प्रमुख स्रोत बन्ने प्रक्षेपण गरिएको छ, जसले गर्दा स्वच्छ उत्पादन प्रविधिको आवश्यकता झन् बढेको छ। 

यस परियोजनाले करिब ४ सय औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूलाई विद्युतीय बोयलर/फर्नेस, आधुनिक बायोमास बोयलर वा उन्नत उत्सर्जन नियन्त्रण प्रविधि अपनाउन वित्तीय सहयोग, प्रोत्साहन र प्राविधिक सहायता प्रदान गर्नेछ।

 


प्रकाशित : बुधबार, फागुन २७ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend