शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २६ २०८२
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

१५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

काठमाडौं- काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरे।

'केही समययता उपत्यकालगायत मुलुकको अधिकांश स्थानमा मौसम सफा हुन सकेको छैन, घाम लागेको छैन र वर्षा पनि हुन सकेको छैन। हावा पनि चलेको छैन', उनले भने, 'मौसम सफा भएसँगै प्रदूषण कम हुने छ, वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन जरुरी छ।'

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आजदेखि नै मौसममा सुधार आउने र तुवालो हटेर जाने बताए। मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज ४ः०० बजेसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक १७४ पुगेको छ। यससँगै काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ।

वातावरणविद् भुषण तुलाधारले प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी आवश्यक रहेको र व्यापक जनचेता जरुरी रहेको बताए।

एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ। एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ। १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। रासस


प्रकाशित : मंगलबार, फागुन २६ २०८२१८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend