शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २६ २०८२
मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरू नजलाउने र जलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ।

काठमाडौं- हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ।

विशेषगरी काठमाडौं, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पीएम’ (प्रदूषणका मसिना कणहरू) दुई दशमलव पाँच पुगेको जनाइएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरू नजलाउने र जलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ।

त्यसैगरी वन-जंगलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरू गर्दा धुलो-धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा अनुरोध गरे।

वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उनले बताए।

प्रदूषण बिहान-बेलुका समयमा उच्च हुने गरेको छ। चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, फागुन २६ २०८२१४:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend