काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच टेलिफोन संवाद भएको छ। संवादपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत आफूले दुवै नेतासँग न्यानो कुराकानी भएको प्रतिक्रिया दिएका छन्।
मोदीले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताका लागि बधाई दिँदै आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन्। उनले भारत सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।
'मैले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको छु,' मोदीले लेखेका छन्, 'नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारत सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता जनाएको छु।'
प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध आगामी वर्षहरूमा संयुक्त प्रयासमार्फत अझ उच्च स्तरमा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन्।
मोदीसँगको संवादपछि रास्वपा सभापति लामिछानेले पनि नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गरेकामा धन्यवाद दिएका छन्। उनले रास्वपाले अघि सारेको विकास–कूटनीतिलाई प्राथमिकता दिँदै नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान र साझा समृद्धिका आधारमा अघि बढाउने बताएका छन्।
लामिछाने र शाहले पनि दुई देशबीच कनेक्टिभिटी, व्यापार, ऊर्जा तथा सांस्कृतिक पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्दै सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको उल्लेख गरेका छन्।
मोदीसँगको संवादपछि लामिछानेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'हामी भारतसँग कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापार जस्ता क्षेत्रमा दुवै देशको हित हुने गरी सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहन्छौं।'

