काठमाडाैं- लामो समयदेखि सेयर बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता अहिले केही विश्वस्त देखिएका छन्। चुनावी परिणाम आइरहँदा स्थिर नीतिमा अडिग रहनेगरी सरकार आउने देखिएसँगै लगानीकर्ता हौसिएका छन्।
प्रतिनिधि सभा निर्वाचनपछि आज सोमबार खुलेको सेयर बजार तीन पटक सकारात्मक सर्किट ब्रेक लाग्दै बन्द भएको छ। बजार १६२.९४ अंकले बढेर २८७५.४४ बिन्दुमा पुगेको छ। ५५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको बजारमा लगातार तीन सर्किट ब्रेक लागेको हो।
कारोबार सुरु भएको एक मिनेटमा नै सकारात्मक सर्किट ब्रेक लाग्दै २० मिनेट रोकिएर बजार सुरु भएको थियो। त्यसको केही सेकेण्डमै दोस्रो सर्किट ब्रेक लाग्यो। दोस्रो सर्किट ब्रेकपछि ४० मिनेट रोकिएर खुलेको बजारमा लगत्तै तेस्रो सर्किट ब्रेक लाग्यो।
लामो समयदेखि लगानी गर्न डराइरहेका लगानीकर्ताको मनोबल अहिले बढेको आँकलन गर्न सकिन्छ। नेपालमा अस्थिर सरकार हुने र त्यसले नीतिगत स्थिरता पनि दिन नसक्दा लगानीकर्ता निरास थिए। बारम्बार सरकार परिवर्तन हुँदा आर्थिक नीति स्थिर नहुनुका साथै अपेक्षित आर्थिक प्रगति हुन सकेकाे थिएन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पुँजी बजारलाई आफ्नो घोषणापत्रमा पनि समेटेको छ। पार्टीले नेपालको पुँजी बजारमा हाल कायम रहेको एकाधिकार अन्त्य गरी यसलाई विश्वस्तरीय बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ।
रास्वपाले सरकारी स्वामित्वमा रहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई निजीकरण गर्ने वा निजी क्षेत्रको सहभागिता बढाएर प्रतिस्पर्धात्मक बनाउने प्रस्ताव गरेको छ। जसका कारण निजी क्षेत्रको लगानी रहनेमा लगानीकर्ता विश्वस्त छन्।
साधारण सेयरमा मात्र सीमित बजारलाई बण्ड, डेरिभेटिभ, फ्युचर्स र अप्सन जस्ता आधुनिक वित्तीय उपकरणहरूमा विस्तार गर्ने र धितोपत्र बोर्ड (सेबोन) लाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै इनसाइडर ट्रेडिङ रोक्न कडा कानुन बनाउने रास्वपाको संकल्प छ। साथै एनआरएनलाई दोस्रो बजारमा ल्याउन डाइस्पोरा बण्डको अवधारणासमेत अघि सारेको छ।
नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार अब इन्ट्रा-डे ट्रेडिङ र आधुनिक वित्तीय उपकरणहरू जस्तै डेरिभेटिभ्स र फ्युचर्सको कार्यान्वयन हुनेमा ढुक्क रहेको बताउँछन्। राजनीतिक स्थिरताले ब्याजदरमा आउने सहजता र बैंकिङ प्रणालीमा रहने तरलताको उपलब्धताले बजारलाई थप बल पुर्याउने देखिएको उनको भनाइ छ।
जनताले पुराना दलहरूको विकल्प खोज्दै नयाँ शक्तिलाई दिएको यो भारी म्यान्डेटले पुँजी बजार मात्र नभइ समग्र देशको आर्थिक संरचनामा परिवर्तन ल्याउने र सुशासन स्थापना गर्ने संकेत गरेको छ।
पछिल्लो समयको राजनीतिक अस्थिरताका कारण लगानी गर्न डराइरहेका ठूला र संस्थागत लगानीकर्ताहरू समेत अब बजारमा फर्किएका छन्।
साधारण सेयरमा मात्र सीमित रहेको बजार अब बण्डजस्ता आधुनिक औजारहरूमा प्रवेश गर्दा यसले विश्वस्तरीय स्वरूप लिने निश्चित छ। नयाँ बन्ने सरकारले जनताबाट पाएको यो ऐतिहासिक म्यान्डेटको आधा मात्र काम गरे पनि नेपालको आर्थिक प्रगतिका लागि पर्याप्त हुने विश्वास आम लगानीकर्तामा छ।
