बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २५ २०८२
जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ।

जुम्ला- बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ। एक स्वतन्त्र उम्मेदवारसहित नौवटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको छ।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२ मत), नेमकिपाका विर्षबहादुर रावत (४०० मत), नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बिर्ख शाही (७१ मत) र नेपाल जनता पार्टीका रनील विक्रम शाही (४३ मत) लगायतका दलीय उम्मेदवारहरूले जमानत जोगाउन सकेनन्। स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको समेत जमानत जफत भएको छ।

उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन्। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानून व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले बताए।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन्। दोस्रोमा नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा (एमाले)का शान्तिलाल महतले ४ हजार ५१८ मत, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। जम्मा खसेको कुल मतमध्ये १ हजार ७२४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेकोे छ। समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो। जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

कर्णालीमा कांग्रेस पहिलो दल

कर्णाली प्रदेशका १० वटा जिल्लाका १२ वटा निर्वाचन क्षेत्रको अन्तिम मत परिमाण सार्वजनिक हुँदा पाँच निर्वाचन क्षेत्रमा विजयी हुँदै कर्णालीमा कांग्रेस पहिलो दल बनेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिमाणअनुसार कांग्रेसबाट जाजरकोटमा खड्कबहादुर बुढा, हुम्लामा जयपति रोकाया, दैलेख-१ मा वासना थापा, मुगुमा खड्क शाही र सुर्खेत-१ बाट विष्णुबहादुर खड्का निर्वाचित भएका छन्।

नेकपाबाट रुकुम पश्चिमा गोपाल शर्मा, सल्यानमा रमेशकुमार मल्ल, डोल्पामा धनबहादुर बुढा र कालिकोटमा महेन्द्रबहादुर शाही विजयी भएका छन्। यसैगरी राप्रपाबाट जुम्लामा ज्ञानबहादुर शाही, एमालेबाट दैलेख-२ मा लक्ष्मीप्रसाद पोखरेल र रास्वपाबाट सुर्खेत-२ मा रमेशकुमार सापकोटा निर्वाचित भएको निर्वाचन आयोगको केन्द्रिय कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। कर्णालीमा नेकपाले ४ तथा रास्वपा, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एक-एक निर्वाचन क्षेत्रमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ। रासस


प्रकाशित : सोमबार, फागुन २५ २०८२११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend