काठमाडौं- इरानसँगको अमेरिका-इजरायल युद्ध लम्बिने संकेतपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ। पश्चिम एसियामा जारी तनावले कच्चा तेलको मूल्य २० प्रतिशतसम्म वृद्धि भएको हो।
युद्ध लम्बिँदै जाँदा आपूर्ति अभाव हुने डर र हर्मुज स्ट्रेटबाट हुने ढुवानीमा दीर्घकालीन अवरोधको चिन्ता बढेपछि सोमबारको प्रारम्भिक कारोबारमा अमेरिकी कच्चा तेलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेर जुलाई २०२२ पछिको उच्च बिन्दुमा पुगेको छ।
अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट क्रुड फ्युचर्समा प्रतिब्यारेल २०.३४ डलरसम्म बढेको थियो र २२:२० बजेसम्ममा १४.८३ डलर वा १६.३१ प्रतिशतले बढेर १०५.७३ डलरमा कारोबार भइरहेको थियो। कारोबार खुलेतगत्तै मूल्य २२.४ प्रतिशतसम्म बढेर १११.२४ डलर पुगेको थियो। बेन्चमार्क सम्झौता शुक्रबार १२ प्रतिशतले बढेको थियो र गत हप्तामा ३६ प्रतिशत ले वृद्धि भएको राेयटर्सले लेखेको छ।
अमेरिका र इजरायलसँगको द्वन्द्व सुरु भएको एक सातापछि तेहरानमा कट्टरपन्थीहरू नै दृढ रूपमा सत्तामा रहेको संकेत दिँदै इरानले सोमबार आफ्ना सर्वोच्च नेता अली खामेनीको उत्तराधिकारीका रूपमा मोज्तबा खामेनीलाई सर्वोच्च नेता नियुक्त गरेको छ। विश्लेषकहरूका अनुसार यो नियुक्तिले इरानको विदेश नीति र सैन्य अडान थप आक्रामक हुन सक्ने संकेत गर्दछ।
इजरायली सेनाले आइतबार सबेरै लेबनानको राजधानीमा इरानी कमान्डरहरूलाई निशाना बनाएको बताएको छ। जसले गर्दा बेरुतको केन्द्रसम्म सैन्य अभियानको दायरा विस्तार भएको छ। केही दिनदेखि जारी आक्रमणमा परी करिब ४०० जनाको ज्यान गइसकेको छ।
अमेरिकी रक्षा मन्त्रालयले यस क्षेत्रमा थप सेना र विमानहरू तैनाथ गर्ने घोषणा गरेको छ, जसले प्रत्यक्ष द्वन्द्वको जोखिमलाई अझ बढाएको छ। यसले युद्ध थामिनुको साटो अझै लम्बिने देखिएकाले तेलको मूल्य झनै बढ्ने अनुमान विज्ञहरूले गरेका छन्।
साताअघिदेखि जारी द्वन्द्व छिट्टै समाप्त भए पनि विश्वभरका उपभोक्ता र व्यवसायीहरूले हप्तौँ वा महिनौँसम्म इन्धनको उच्च मूल्य सामना गर्नुपर्ने हुन सक्छ। आपूर्तिकर्ताहरू अहिले बिग्रिएको सुविधा, अवरुद्ध लजिस्टिक सञ्जाल र ढुवानीमा बढेको बीमा शुल्कसँग जुधिरहेकाले तत्काल उपभोक्तामा तेलको मूल्य कम हुन सक्छ।
ऊर्जा विश्लेषकहरूका अनुसार विश्वको २० प्रतिशत तेल निर्यात हुने हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द भयो भने तेलको मूल्य प्रतिब्यारेल १५० डलर नाघ्न सक्छ। यसले विश्व बजारमा ऊर्जा संकट र महँगी उल्लेख्य रूपमा बढाउने छ।

