काठमाडौं- झापा क्षेत्र नम्बर ५ मा सम्पन्न निर्वाचनमा रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्।
एमाले अध्यक्ष ओलीले यस क्षेत्रमा १८ हजार ७२४ मत प्राप्त गरे। यस अनुसार दुवै नेताबीच मत अन्तर ४९ हजार ६२४ पुगेको छ।
झापा-५ यस वर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चा केन्द्रबिन्दुमा रहेको क्षेत्र थियो। काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहको उम्मेदवारी घोषणा भएसँगै यहाँ ओलीसँगको प्रतिस्पर्धालाई लिएर मतदातामाझ र सञ्चार माध्यममा चर्चा चुलिएको थियो।
३६ वर्षीय बालेन्द्र (बालेन) शाह पेशाले इन्जिनियर हुन्। चार वर्षअघि सम्म उनी र्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित थिए। तर काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएसँगै उनी व्यापक परिचित बने।
शाहको जन्म काठमाडौंको गौरीगाउँमा आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहको घरमा भएको हो। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। पेशागत जीवनमा उनी देशका ६५ जिल्लामा काम गरिसकेका छन्।

