काठमाडौं- देशभर फैलिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घण्टी’ लहर अन्ततः भक्तपुरसम्म आइपुग्दा दशकौँदेखि कायम रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ‘मादल’ गढ ढलेको छ।
तीन दशकभन्दा बढी समयदेखि अटुट मानिँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला अन्ततः भत्किएको छ। भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवाललाई ५ हजारभन्दा बढी मतान्तरले पछि पार्दै रन्जित विजयी भएका हुन्। अन्तिम परिणामअनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत पाए।
त्यस्तै नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरे भने नेकपा (एमाले) का सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाए। यो परिणामसँगै तीन दशकदेखि नेमकिपाको प्रभावमा रहेको भक्तपुर-१ को राजनीतिक समीकरण नै बदलिएको छ।
तीन दशक पुरानो किल्ला
भक्तपुर-१ लामो समयदेखि नेमकिपाको सबैभन्दा बलियो निर्वाचन क्षेत्र मानिन्थ्यो। २०४८ सालदेखि यहाँ आएको कुनै पनि राजनीतिक लहरले नेमकिपाको आधारलाई खासै हल्लाउन सकेको थिएन।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका समेटिएको यस क्षेत्रमा २०४८, २०५१, २०५६, २०६४ र २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें विजयी भएका थिए।
बिजुक्छेंपछि यहाँ पार्टीको प्रतिनिधित्व प्रेम सुवालले सम्हाले। सुवालले २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जित निकाल्दै नेमकिपाको प्रभाव कायम राखेका थिए।
नेमकिपाको स्थानीय तहमा रहेको संगठनात्मक पकड पनि निकै बलियो मानिन्थ्यो। गएको स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुखसहित सबै वडा नेमकिपाले जितेर ‘क्लिनस्वीप’ गरेको थियो। यही कारणले भक्तपुर-१ लाई नेमकिपाको किल्ला मानिन्थ्यो।
भक्तपुर-१ मा कुल १ लाख ७ हजार ५४ मतदाता छन्। तीमध्ये २६ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या ३६ हजारभन्दा बढी छ। ४१ देखि ६० वर्ष उमेर समूहका मतदाता ४० हजारभन्दा बढी छन् भने ६० वर्षभन्दा माथिका मतदाता करिब २१ हजार छन्।
मतदाताको यही संरचनाले पनि यसपटकको परिणाममा प्रभाव पारेको विश्लेषण गरिएको छ। पछिल्ला वर्षहरूमा युवामाझ नयाँ राजनीतिक शक्तिप्रति आकर्षण बढ्दै गएको देखिन्छ। गएको प्रतिनिधिसभा निर्वाचनमा यहाँ करिब ७१ प्रतिशत मत खसेको थियो। त्यस निर्वाचनमा खसेको कुल मतमध्ये करिब ४२ प्रतिशत मत प्रेम सुवालले प्राप्त गरेका थिए। तर यसपटक भने मतदाताको व्यवहारमा उल्लेखनीय परिवर्तन देखियो।
भक्तपुर नगरपालिकामा नेमकिपाको लामो समयदेखिको प्रभाव रहे पनि यसपटक मतदाताले परम्परागत मतदान व्यवहार परिवर्तन गरेका छन्।
गएको स्थानीय तह निर्वाचनमा नेमकिपाले भक्तपुर नगरपालिकामा प्रमुख, उपप्रमुख र सबै वडामा जित निकाल्दै ‘क्लिनस्वीप’ गरेको थियो। त्यस आधारलाई पार्टीले आफ्नो स्थायी मतको रूपमा लिएको थियो। तर प्रतिनिधिसभा निर्वाचनमा भने त्यो आधार जोगाउन नसकेको देखियो।
भक्तपुर-१ को परिणामले परम्परागत रूपमा स्थापित राजनीतिक किल्ला पनि बदलिन सक्ने सन्देश दिएको छ। लामो समयसम्म एकै दलको प्रभाव रहेको क्षेत्रमा पनि मतदाताले परिवर्तन रोज्न सक्ने संकेत यस परिणामले दिएको छ। यससँगै भक्तपुरको राजनीतिक इतिहासमा पहिलो पटक नेमकिपाबाहिरको दलले प्रतिनिधिसभा निर्वाचन जितेको छ।
